काठमाण्डु – जयसिंह धामी बेपत्ता प्रकरणमा छानविन समितिले प्रतिवेदन बुझाएको छ ।
जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।
महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएका थिए ।
उक्त घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट तथा प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए ।
तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा महाकालिमा खसेर बेपत्ता भएका ३३ वर्षीय धामीको अवस्था अझै अज्ञात छ ।
के छ प्रतिवेदनमा ?
दार्चुला घटनामा छानबिन समितिले भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमै घटना भएको निष्कर्ष निकालेको छ ।
समितिले बुझाएको प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।
यस्तै बेपत्ता जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न समितिले सिफारिस गरेको छ ।
आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।





प्रतिक्रिया