जितगढी किल्लामा पुगेर प्रधानमन्त्री ओलीले भने -राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान महत्वपूर्ण

जितगढी किल्लामा पुगेर प्रधानमन्त्री ओलीले भने -राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान महत्वपूर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि देख्न नचाहनेहरूले विभिन्न आवरणमा ज्योतिषीहरूलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताएका छन् । शनिबार बुटवलमा जितगढी उत्सवको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीहरुलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको बताएका हुन् ।

‘जनता भड्काउन सकिएन, चलाउन सकिएन भने दक्षिणाको लोभमा पारेर ज्योतिषिहरू लगाएर आज यो हुन्छ भोली यो हुने छ भनेर भविष्यवाणी गरेका छन्’, उनले भने। प्रधानमन्त्री ओलीले गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेकोजस्ता ज्योतिषीहरूको भविष्यवाणीप्रति संकेत गरेर उक्त अभिव्यक्ति दिएका हुन। प्रधानमन्त्रीले राजनीतिक स्वार्थ पूरा नभएपछि ज्योतिषीलाई लोभ देखाएर भ्रमपूर्ण भविष्यवाणी गर्न उक्साएको बताए। उनले आजको आवश्यकता अनूसार ज्योतिषीकहाँ नभई जनतामा जान आग्रह गरे।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूह तर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नाम क्रान्तिकारी तर काम देश बिगार्ने, यस्ता तत्वहरूसँग अलमलिनु हुँदैन।’ बुटवलमा अंग्रेज सेनालाई पराजित गरिएको गढीका रूपमा रहेको जितगढी किल्लामा आयोजित विजय उत्सव दिवसमा ओलीले राष्ट्र निर्माणमा नेपाली सेनाको योगदान महत्वपूर्ण रहेको बताए। सेना आफैँमा स्वायत्त भएको बताउँदै ओलीले नेपाली सेनाको योगदान कुनै व्यक्ती या वंशसँग नजोडिने बताए। ‘एकताका नेपाली सेनाको नाम शाही नेपाली थियो, राजाकै चाकरी गर्ने हो कि भन्नेजस्तो लाग्थ्यो, सेना लोकतान्त्रिक भयो,’ उनले भने, ‘उसको बलिदान, योगदान वंशसँग जोडिदैन।’