काठमाण्डु – आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने जानकारी उनले दिए।
कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावनासमेत रहेको भन्दै उहाँले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफलसमेत नभएको जानकारी दिए । यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमनसमेत गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भन्नुभएको थियो । स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनीसमेत उनले दिएका थिए।
छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढ्दो क्रममा रहेकोले त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनुभएको थियो । उहाँको यो धारणासँगै विद्यालय तहको परीक्षा कार्यतालिकामा हेरफेर हुनसक्ने आकलन गरिए पनि शिक्षाका अधिकारीहरूले अहिलेसम्म यस विषयमा नसोचिएको स्पष्ट पारेका हुन् । पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको जनाइएको छ ।-यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया