अर्थमन्त्री शर्माको ‘आफन्त मोह’: एडीबीपछि बिमा समितिमा पनि ‘नातेदार’

अर्थमन्त्री शर्माको ‘आफन्त मोह’: एडीबीपछि बिमा समितिमा पनि ‘नातेदार’


काठमाण्डु – सरकारले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालकमा सन्तोष रिजाललाई नियुक्त गरेको छ । रिजाललाई सरकारले मंसिर १६ गते समितिको सञ्चालक पदमा नियुक्त गरेको हो ।

समितिको सञ्चालक रहेका राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले राजिनामा दिएपछि रिक्त रहेको सञ्चालक पदमा सरकारले रिजाललाई नियुक्त गरेको हो । बीमितहरुको तर्फबाट समितिको सञ्चालक पदमा नियुक्त भएका रिजाल अर्थमन्त्री शर्माका नातेदार हुन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा मनपरी नियुक्ति गरेको आरोप लगाउँदै आएका माओवादी केन्द्रका मन्त्रीहरु नै आफु सत्तामा पुगेपछि भाइभतिजा र ज्वाइँचेलाको नियुक्ति गर्न थालेका छन् ।

सञ्चालक समितिमा जोसुकै बिमितलाई नियुक्त गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बिमा गरेका व्यक्तिको तर्फबाट अर्थमन्त्री शर्माले सञ्चालक समितिमा आफ्ना नातेदार रिजाललाई नियुक्ति गरेका हुन् ।

बिमा समिति बिमा क्षेत्रको सर्वोच्च निकाय हो । बिमा कम्पनीहरुको नियमन तथा सुपरीवेक्षणको अधिकार भएकाले बिमा समिति सरकारी नियुक्तिका लागि आकर्षक निकाय मानिन्छ । तर, नयाँ अर्थमन्त्री आए लगत्तै एउटा चर्चा सुरु भएको छ, ‘नातावाद जिन्दावाद ’ ।

यसअघि पनि अर्थमन्त्री शर्माले एसियाली विकास बैंक (एडीबी) को कार्यकारी निर्देशकको सल्लाहकार पदमा आफ्नै भान्जी ज्वाई भीमकान्त न्यौपानेलाई पठाएका थिए । मन्त्री शर्माले ज्वाई न्यौपानेलाई मासिक १८ लाख तलव सुविधा पाउनेगरि एडीबीमा पठाउने निर्णय गरेका हुन् ।

न्यौपाने अर्थ मन्त्रालयका अधिकृत छन् । अहिलेसम्म बैंकको कार्यकारी निर्देशकको सल्लाहकार पदमा उपसचिव र सहसचिव मात्रै गएका छन् । ओली सरकार पदमुक्त हुने १५ दिनअघि उपसचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय भएको थियो । तर शर्मा मन्त्री हुनासाथ उक्त निर्णय बदर गरेर न्यौपानेलाई पठाउने निर्णय गरिएको हो ।

यसअघि मुख्यसचिव डा. सोमलाल सुवेदीदेखि सचिव रामशरण पुडासैनीले एडीबीमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए । आफ्ना भाञ्जीज्वाईंका लागि शर्माले देशको प्रतिष्ठा नै दाउमा लगाएका छन् । मुख्यसचिव र सचिवले नेतृत्व गर्दैआएको एडीबीको सल्लाहकारमा यसअघिका मन्त्री बिष्णुप्रसाद पौडेलले उपसचिवलाई पठाउने निर्णय गरेका थिए ।

तर ओलीको सरकारलाई प्रतिगमनकारी र भ्रष्टाचारी भन्दै आएका मन्त्री शर्माले अर्थ मन्त्रालयका कनिष्ट शाखा अधिकृतलाई भान्जीज्वाई भएकै कारण मनिलास्थित एडीबीको सल्लाहकारमा पठाएर सुशासनकै धज्जी उडाएका छन् ।

बीमा समितिको सञ्चालकहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव सुशिल कोइराला, बीमा विज्ञको रुपमा कपिलदेव ओली र आन्तरिक राजश्व विभागका महानिर्देशक सह सचिव शोभाकान्त पौडेल रहेका छन् ।