मूर्ति विसर्जनका क्रममा झडप, सर्लाहीको मलंगवामा कर्फ्यू

मूर्ति विसर्जनका क्रममा झडप, सर्लाहीको मलंगवामा कर्फ्यू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सर्लाहीको सदरमुकाम मलंगवावामा मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच भएको झडपका कारण स्थिती तनावग्रस्त भएपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए। शनिबार साँझ पाँच बजेदेखि शुरु भएको कर्फ्यू भोलि बिहान आठ बजेसम्म रहनेछ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले शनिबार सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरे पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि कर्फ्यू लगाइएको हो । हिजो रातिदेखि अवस्था केही सहज भएपनि आक्रोशित युवाहरुले आज चोक-चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने छोटो तथा लामो दुरीका यातायातका साधनहरु चल्न सकेको छैनन् ।