मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला कारागार मोरङमा कैदीबन्दीबिच झडप भएको छ । विराटनगरको हाटखोलामा रहेको जिल्ला कारागारमा आज बिहान १० बजेतिर झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए ।

कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको उनले जानकारी दिए । झडपमा परेर चौकीदार किरण गुरुङसहित अरु कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएको पोखरेलले बताए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको छ । निमित्त जेलर पोखरेलले झडपमा कारागारभित्र मुढा बनाउने बाँसका भाटालगायतको प्रयोग भएको पाइएको छ । झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

काठमाण्डुस्थित डिल्ली बजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका गुन्डा नाइके अभिषेक गिरीलाई ल्याउने चर्चासँगै भदौयता मोरङ कारागारमा नियमितजसो तनाव भइरहेको छ । २ सय ५० जना क्षमताको मोरङ कारागारमा अहिले ८ सय ९७ जना कैदीबन्दी रहेका छन् ।