झलनाथको अपील-अपवित्र साँठगाँठ तिर नलागौँ

झलनाथको अपील-अपवित्र साँठगाँठ तिर नलागौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी शक्तिहरूसँग अपवित्र साँठगाँठ नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्न लागेको र त्यसमा नेकपा समेत सामेल हुन लागेको चर्चा भइरहेका बेला नेता खनालले अपवित्र साँठगाँठमा नलाग्न आग्रह गरेका छन् ।

खनालले आइतबार वक्तव्य जारी गर्दै अहिलेको जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन माग गरेका छन् ।

‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्’, खनालले वक्तव्यमा भनेका छन्, ‘आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत छलफल गरियोस्, क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् ।’

वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

खनालले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रुपले बचाउनुपर्ने भन्दै केही नेताहरूको कुर्सीमोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।

‘‘हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ, यो साँठगाँठको बेला होइन सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो’, खनालले भनेका छन् ।

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जान्छन् कि भन्ने आमजनताको आशा विपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता,जनजीविका तथा छिमेकी मुलुकसँगका सम्बन्ध नै खलबलिन थालेको उनको टिप्प्णी छ ।

बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताका विरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जनताले देख्न चाहेको उल्लेख गर्दै खनालले भनेका छन्, ‘त्यसका निम्ति वामपन्थीहरूले आफूबिचका आग्रह, पूर्वाग्रह, दम्भ र घमन्ड त्यागेर वामपन्थी एकताको पहल गरेको हेर्न जनता चाहान्छन । तर नेपालका वामपन्थीहरू विगतमा नीतिहीन, वर्ग दृष्टिकोणहीन र निहित गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँगको एकतामा आनन्द महसुस गर्दै आएका छन् ।’

नेपाली कम्युनिस्ट पार्टीले पनि यस्तै गल्ती गर्दै आएको भन्दै खनालले अहिले पनि त्यही गल्ती गर्ने र दक्षिणपन्थी शक्तिहरूसँग साँठगाँठ गरेर कम्युनिस्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्‍याउने खतरा देखा परेको जनाएका छन् ।