काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटेर ठूलो भाग खान पाउँछु भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।
सोेमबार गृहजिल्ला इलाम पुगेका नेता खनालले बहुमत सचिवालय सदस्यहरु पार्टी एकताको पक्षमा रहेकाले कसैले पनि पार्टी फुटाउने सपना नदेख्ने चेतावनी दिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ । रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न ।’
त्यस्तै उनले मुलुकको प्रचलित कानुन, संविधानले पनि नेकपा विभाजन गर्न नदिने बताएका छन् । नेता खनालले आफूहरु पाटीलाई अझै बलियो बनाउने काममा सक्रिय रहेको बताएका हुन् ।
‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ । संविधानले पार्टी फुटाउन दिँदैन । हामी पार्टी फुटाउने पक्षमा छैनौं । बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं’, उनले भने ।
पछिल्लो समय नेकपाको विवादका कारण पार्टी फुट्ने आशंक भइरहेका बेला नेता खनालको यस्तो भनाई बाहिर आएको हो ।




प्रतिक्रिया