दिल्ली जानुअघि झलनाथले भनेः देश र पार्टीको अवस्थाले मलाई चिन्तित बनायो


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन् ।

बुधबार थप उपचारका लागि दिल्ली जानुअघि एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले राजनैतिक दलहरुबीचको विवाद र ध्रुविकरणले पार्टी विभाजन उन्मुख भएको बताएका हुन् । उनले आफू सफल उपचार पछि स्वदेश फर्केर नागरिकहरुमाझ पुनः हुने विश्वास लिएको बताएका छन् ।

‘उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’, ‘देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् ।’

पार्टी विभाजनको अन्तर संघर्षको पराकम्पन तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परेको र अहिले नेकपा (एमाले) मा परिरहेको नेता खनालको भनाई छ ।

उनले राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुले व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय एकता–अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु’, उनले भनेका छन् ।

नेता खनालले जनताको चाहना र अपेक्षा विपरित नेताहरुमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।

‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु’, उनले भनेका छन् ।

नेता खनालले पार्टीलाई फुटतर्फ नधकेल्न र धैर्य/संयमका साथ एकता जोगाउने प्रयत्न गरेमात्र आफूहरु सफल हुने बताएका छन् ।

‘टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement