काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले टुँडिखेल सबै प्रकारका अतिक्रमणबाट मुक्त हुनुपर्ने बताएका छन् ।
अकुपाई टुँडिखेलका अभियन्तासँग डल्लुस्थित आफ्नै निवासमा कुरा गर्दै खनालले काठमाडौंमा खुल्ला क्षेत्रहरुको कमी हुँदै गएकोले टुँडिखेल जनताको आवश्यकता रहेको बताए ।
खनालले भने, ‘हामीसँग राजधानीमा एउटा टुँडिखेल छ । यो मात्रै खुल्ला क्षेत्र बाँकी छ । राजनीतिक, सांस्कृतिक, ऐतिहासिक हिसावले यसको महत्व छ । भूकम्पका बेला धेरैलाई यही टुँडिखेलले बास दिएको थियो ।’
नेता खनालले अब टुँडिखेलबाट सबै अतिक्रमण हटाएर यसलाई ‘खुल्ला टुँडिखेल’ बनाउन अत्यावश्यक भइसकेको बताए ।
रानीपोखरीदेखि दशरथ रंगशालासम्मको विशाल टुँडिखेल जनताका लागि खुल्ला हुनुपर्ने मागसहित सुरु भएको अकुपाई टुँडिखेल अभियान दुई महिनायता निरन्तर चलिरहेको छ । रत्नपार्कदेखि खुल्लामञ्चसम्म मानव साङ्लो बनाएर सुरु भएको अभियान अन्तर्गत हरेक शनिबार रचानात्मक कार्यक्रम हुँदै आएको छ ।




प्रतिक्रिया