काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरू मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सम्मानित नेता खनालले जनताले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको जिकिर गरे । उनले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने उल्लेख गरे।
सम्मानित नेता खनालले वाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताए । उनले संख्या पुर्याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताए।उनले लक्ष्य,योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दाबल्दा समस्याहरू संसद्मा उठाउन पार्टीका नेताहरूलाई निर्देशन दिए । सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताए ।




प्रतिक्रिया