खनाल र नेपालको ‘त्यो’ अभिव्यक्ति, जसले पुर्‍यायो विवादको भूमरीमा

खनाल र नेपालको ‘त्यो’ अभिव्यक्ति, जसले पुर्‍यायो विवादको भूमरीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ दुई नेता आफ्नै बोलीका कारण आलोचित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आक्रोशित भएका माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आफ्नै बोलीका कारण विवादमा परेका हुन् ।

केपी ओलीसँग ३० वर्षभन्दा लामो सहकार्य टुटाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयात्री बनेका यी दुई नेताले मंगलबार राजधानीमा आयोजीत विरोधसभामा दिएका अभिव्यक्तिले विवाद जन्माएको हो ।

विवादमा माधव नेपाल

मंगलबार प्रदर्शनी मार्गको विरोधसभालाई अध्यक्ष माधव नेपालले सम्बोधन गरेका थिए । संसद विघटनपछि ओलीप्रति आक्रोशित भएका उनले त्यसक्रममा बरु बालुवाटारको बालुवाबाट तेल निस्केला तर ओलीलाई सुधार्न नसकिने भन्दै व्यंग्य गरे । उनले सम्बोधनको अधिकांश समय करिब ३ दशक लामो सहकार्यपछि छुट्टिएका ओलीमाथि आक्रोश पोख्नमै खर्चिए ।

त्यसपछि उनी प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तरवार्ताका लागि पुगेका थिए । जहाँ उनले ओलीमाथि नै आक्रोश पोख्दै एउटा उत्पीडित तथा दलित जातिसम्बन्धी उखान भन्न पुगे ।  नेपालले त्यसक्रममा ओलीले अहिले ‘मै मरे डुमै राजा’ जस्तै प्रवृत्ति देखाएको टिप्पणी गरेका थिए ।

उनको यो टिप्पणीलाई लिएर अहिले दलित तथा उत्पीडित समुदायलाई होच्याएको भन्दै चर्को आलोचना भइरहेको छ । नेकपाकै कार्यकर्ता र अन्य सर्वसाधारणले पनि उक्त उखान बोलेर नेपालले दलित समुदायप्रति आफ्नो धारणा प्रकट गरेको भन्दै विरोध जनाएका छन् ।

अनेरास्ववियु म्याग्दीका संयोजक सुवास विश्वकर्माले नेपालले उक्त अभिव्यक्ति दिएर उत्पीडित समुदायप्रति उनको अन्तरमनमा रहेको धारणा ओकलेको भन्दै आपत्ति जनाएका छन् । साथै उनले यस्तो घृर्णित सोच बोकेको मानिसलाई समाजले बहिस्कार गनुपर्ने समेत माग गरेका छन् ।

माधव नेपाललाई आफुले बोलेको सो बोली अफैलाई भारी पर्यो । उनले दलित तथा उत्पीडित समुदायप्रति लक्षित गर्दै टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरालाई लिएर जताततै सर्वत्र विरोध हुन थालेपछि माफी नै मागे । उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो उक्त टिप्पणीले दलित तथा उत्पीडित समुदायको अपमान भएको ठहरसहित माफी मागेका छन् ।

उनले लेखेका छन्, ‘पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवस् दलित समुदाय लक्षित एउटा शब्द प्रयोग भएकोमा क्षमा याचना गर्दछु । साथै, मैले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समनताका पक्षमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।’

खनाल पनि विवादमा

दाहाल–नेपाल समूहले प्रदर्शनी मार्गमा गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीमाथि नै आक्रोश पोखे । उनले सम्बोधनका क्रममा ओली सरकारले कामै नगरी तीन वर्ष बिताएको आरोप लगाउँदै निरन्तर विरोध गरिरहे ।

उनले प्रधानमन्त्रीमाथि विरोध गर्ने क्रममा ओली सरकारको पालामा पुनर्निर्माण गरिएका धरहरा र रानीपोखरीको प्रसंग निकाले । नेता खनालले धरहरा र रानीपोखरी ओलीले बनाउँदै नबनाएको तर्क गरे ।

‘धरहरा केपी ओलीले बनाएको हो ?, ‘खनालले भाषणको क्रममा भने, ‘होइन, कालिगडले बनाएको हो, इन्जिनियरले बनाएको हो, डकर्मी र सिकर्मीहरूले बनाएको हो । यो केपी ओलीको पालामा बनेको हो, तर केपी ओलीले बनाएको त होइन नि ।’

खनालले भाषण गरेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले यस्तो हाँसो लाग्दो भाषण गरेपछि उनलाई हाँसोमा उडाउनेहरू उत्तिकै देखिएका छन् ।  उनको भाषणलाई लिएर एकजना पत्रकार मोहन बाँस्तोलाले कटाक्ष गरेका छन् ।

‘कमरेडको हिजोको भाषणः रानीपोखरी, धरहरा कसले बनायो ? कालिगडले । प्रतिनिधिसभा विघटन कसले गर्यो ? केपी ओलीले’, बाँस्तोलाले भनेका छन्, ‘कमरेडले १ नम्बरको जस्तै तर्क गर्ने हो भने संसद् विघटन कम्प्युटर अपरेटरले भन्नुपर्ने हो । केपी ओलीले टाइप गर्नु भएकै होइन, कम्प्युटर अपरेटरले हो ।’

त्यस्तै सामाजिक सञ्जालमा नेता खनालको त्यो भाषणलाई लिएर विभिन्न टिप्पणी भएको पाइन्छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, ‘खनाल सरले ‘मैले भाषण गरेकै होइन, मेरो मुखले के–के पो बोल्यो ? भन्न बेर छैन ।’

त्यसैगरी अर्का एक जनाले ‘रानीपोखरी ओलीले हैन सिकर्मीले बनाएको’ भन्ने अभिव्यक्तिलाई लिएर कुनै दिन प्रधानमन्त्री भनेर सम्मान गरेकोमा आफैलाई लाज लागेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भैसकेका नेताको चेतनाको स्तर, छिछि कुनैदिन प्रधानमन्त्री भनेर सम्मान गरेकामा आज आफैसँग लाज लागेको छ ।’

साथै अन्य प्रयोगकर्ताले पनि प्रचण्ड समूहमा लागेपछि नेता खनाल र नेपालले होस गुमाएको भन्दै सम्हालिएर बोल्न आग्रह गरेका छन् ।