काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलहरू होमिएका छन् । संघीय निर्वाचनको मिति नजिकिएसँगै सानादेखि ठुला राजनीतिक दल चुनावी प्रचारप्रसारमा होमिएका हुन् । जसअनुसार इलामको क्षेत्र न. १ मा पनि राजनीतिक दलले चुनावी प्रचार तिव्र पारेका छन् ।
यस क्षेत्रमा संघीय निर्वाचनलाई चासोका साथ हेरिएको छ । इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सो क्षेत्रबाट विजय होलन या नहोलान भन्नेबारे आम जनताको चासो छ ।
खनालसँग भिड्न यस क्षेत्रबाट नेकपा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रका मुख्य प्रतिस्पर्धी भनेको यी दुबै नेता हुन् । विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन ।
विसं २०५४ देखि ०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बनेका बस्नेत ०७४ सालको निर्वाचनमा दास्रो कार्यकालका लागि पुनःनिर्वाचित बनेका थिए । लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाएका बस्नेतलाई नेकपा एमालेले यो पटक खनालको प्रतिस्पर्धी बनाएको छ । २०४८ देखि एक पटक बाहेक पराजय नभएका खनाल विगतमा नेकपा एमालेबाटै विजयी बन्दै आएका थिए । तर यसपटक भने खनाल एमालेकै उम्मेदवारसँग प्रतिष्पर्धा गर्दैछन् ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यस क्षेत्रमा नेकपा एमालेले पहिलो पार्टी बनेको छ । जस अनुसार स्थानीय निर्वाचनमा एमालेले २६ हजार २३३ मत पाएको छ ।
त्यसैगरी कांग्रेसले २५ हजार ७७२, नेकपा एसले ९ हजार ४८१, जसपाले १ हजार ८२९, माओवादीले १ हजार २३५ र राप्रपाले १ हजार १६९ मत पाएका छन् । तर, यो क्षेत्रमा सत्ता गठबन्धको मत अगाडि छ । त्यसकारण स्थानीय तहको नतिजा अनुसार खनाललाई यस वर्ष पनि चुनाव जित्न सहज देखिएको छ ।




प्रतिक्रिया