काठमाण्डु – नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङबीच शुक्रबार भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका नेता खनाल र दिङबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेटवार्ता भएको छ ।
भेटवार्तामा पूर्वप्रधानमन्त्री खनालले आधुनिकीकरणको प्रक्रियाबाट चीनले गरेको विकास तथा आर्थिक प्रगतिको सराहना गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री छुएश्याङले चीन बहुध्रुवीकरण र न्यायपूर्ण तथा समानतापूर्ण विश्व व्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै विश्वशान्ति, शान्तिपूर्ण सहअस्तित्व र विकास तथा समृद्धितर्फ सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फारेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन गत शनिबार ग्वाङ्झाउ पुगेका पूर्वप्रधानमन्त्री खनालले चीनको टेलिभिजन नेटवर्क (सीजीटीएन) सँग अन्तर्वार्ताका क्रममा नेपाल–चीन सम्बन्ध, बीआरआई परियोजना र आफू सहभागी भएको अन्डरस्टाण्डिङ चाइना कन्फरेन्सका बारेमा चर्चा गरेका थिए ।
पूर्वप्रधानमन्त्री खनाल मंसिर २२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया