काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले वामपन्थी आन्दोलन विभाजित हुनुमा मुख्य जिम्मेवारी नेकपा एमाले नै रहेको बताए ।
उनले भने, ‘अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौं भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।’
एमालेले वामपन्थी एकतामा अग्रसरता लिएमा ठूलो संख्याको वाम शक्तिहरू एकताबद्ध हुन सक्ने सम्भावना अझै बाँकी रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाका सन्दर्भमा पनि खुलेर अभिव्यक्ति दिएका छन् ।
‘विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसूस गरेर राजनीतिमा पुन: प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र नेतृत्वको दाबी गर्ने हो भने यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ खनालले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यको व्यवहारप्रति पनि उनले चिन्ता व्यक्त गरे । खनालले भने, ‘रविले गल्ती गरे/गरेनन् भन्ने ठोस प्रमाण मसँग छैन । तर राज्यले उनीमाथि अनावश्यक ज्यादती गरिरहेको महसूस मलाई पनि भएको छ ।’
खनालको चीन भ्रमण पार्टी आन्तरिक सुदृढीकरण, २ पक्षीय सम्बन्ध सुदृढीकरण र वाम आन्दोलनको एकता सन्देशका लागि भएको जनाइएको छ ।




प्रतिक्रिया