एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : झलनाथ खनाल

एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात भएको बताएका छन् ।

सोमबार काठमाण्डुमा आयोजित काष्ठमण्डप संवाद समापन समारोहमा उनले हरेक दस्तावेजमा ‘अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखी’ भन्ने वाक्य लेखिएको भन्दै अत्यन्तै आत्मघाती र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक राष्ट्रघात भएको बताए ।

उनले भने, ‘कुनै पनि देश, संगठन वा संस्थासँग सन्धी वा सम्झौता गर्दा अथवा अनुदान लिँदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनलाई समेत ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर लिनुपर्छ । संविधान र राष्ट्रिय हीत विपरीत कुनै पनि शर्तहरूलाई स्वीकार गर्नु हुँदैन । यसमा त दर्जन, दर्जन, दर्जनौं शर्तहरू छन् । फेरि एउटा कागजात मात्र होइन, दर्जनौं कागजातमा समावेश गरिएको छ । १३ वटा कागजात त मैले पनि समातें तर पढ्न भने पाएको छैन । भनेपछि हरेक दस्तावेजमा लेखिएको के छ भने अमेरिकी सुरक्षा स्वार्थलाई ध्यानमा राखि भन्ने वाक्य कतै छुटेको छैन । प्रत्येक दस्तावेजमा त्यो किन लेख्नुपर्‍यो, यो अत्यन्तै आत्मघाती कुरा छ र देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात वा राष्ट्रघात हो ।’

साना वा ठूला कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नहुने भए पनि एमसीसीका प्रतिनिधिले यही आएर धम्काइसकेपछि देशका लालची नेताहरू लुरुक्क परेर सही गरेको उनले बताए ।

उनले भने, ‘साना वा ठूला, कमजोर वा शक्तिशाली कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाब, धाकधम्कीसामु झुकेर गर्नुहुन्न । त्यो राष्ट्रिय आत्मसमर्पणवाद हुन्छ । एमसीसीका प्रतिनिधित्वले यही आएर धम्काइसकेपछि हाम्रो देशका लालची नेताहरू लुरुक्क परेर सही गरेका हुन् । यो आत्मसमर्पणवादी चिन्तनको परिणाम हो ।’

एकाध व्यक्तिहरूको लहर, निजी स्वार्थ, गुट स्वार्थ र पारिवारिक स्वार्थका आधारमा समेत यस्ता सम्झौताहरू हुने गरेको पनि उनले बताए ।