माओवादीसँग मिल्न खोज्दा एकीकृत समाजवादी विभाजित, ‘सिङ्गोे हुनलाई टुक्रा भयो’

माओवादीसँग मिल्न खोज्दा एकीकृत समाजवादी विभाजित, ‘सिङ्गोे हुनलाई टुक्रा भयो’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू स्पष्ट विभाजित भएका छन् ।

पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब १ हप्ताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरी दृष्टिकोण सहितको कार्ययोजना प्रस्तुत गर्ने बताए ।

अलग्गै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाँबाट अलग भएका छौं । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौं, हामी १ हप्ताभित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौं । त्यो भेलामा हामी कसरी भन्ने दृष्टिकोण सहितको कार्ययोजना प्रस्तुत गर्छौं र अगाडि बढ्छौं ।’

उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए । ‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरु कमरेडहरू पनि हुनुहुन्छ, जो हिजो आदरणीय हुनुहुन्थ्यो, उहाँहरू संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरूको हुनेछ र उहाँहरूको वैचारिक संरक्षणमा हामीहरू अगाडि बढ्नेछौं,’ उनले भने । 

भेलामा सहभागी भएका नेता खनालले सिंगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पुनर्गठन हुनु सामान्य प्रक्रिया भएको बताए । ‘टुक्रा भएपछि सिङ्गोे हुन्छ । त्यो सिङ्गोे हुनलाई टुक्रा भएको हो । पुनर्गठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनका लागि गरिएको आजको छलफल हो,’ उनले भने ।