प्रचण्डको विश्वासले पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल

प्रचण्डको विश्वासले पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रस्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्‍याउन आफू आएको बताए ।

उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु, हामी त्यो कुराहरू मिलाउँछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यहीँ विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पुर्‍याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको एकता आजको आवश्यकता हो ।’

अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरूले संकल्प गर्न उनले आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर संकल्प गरौं । यसभन्दा अगाडि पनि हामीले एकता हेर्‍यौं । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौं । ए र कतालाई जोडेर अगाडि बढौं । जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौं । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौं,’ उनले भने ।