काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको बताएका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देशभित्रका उनीहरूका दलालहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न खोजिरहेको आरोप लगाएका हुन्।
उनले समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकताको आह्वानसमेत गरेका छन्।
खनालले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा छ आज देश बहुआयामिक संकटबाट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन्, उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन्।’
। उनले निर्वाचन घोषणा गरेपनि शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार नभएको बताएका छन्।
उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको बताएका छन्। पश्चिमी शक्तिको प्रभुत्वमा रहेको पुरानो विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था क्रमशस् निर्माण भइरहेको दाबी पनि खनालले गरेका छन्।
यो संकटबाट मुलुकलाई पार लगाउन सिद्धान्तका आधारमा वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन पनि उनले आह्वान गरेका छन्।






प्रतिक्रिया