काठमाण्डु – पूर्व प्रधानमन्त्री झलनाथ खनालले सर्प पालन प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।
काठमाण्डुमा बुधबार आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले आफू सर्प पालनमा नरहेको बताए ।
आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज उठाएको खनालले बताए ।
सर्प पालनका लागि आफूले कुनै लगानी नगरेको खनालले प्रस्ट पारे । घटनामा अख्तियारले पनि आफ्नो नाम मुछेको भन्दै उनले असन्तुष्टि जनाए ।
‘मलाई शंका लाग्दालाग्दै पनि ल ठीक छ राख्नुस् भनेर मेरो नाममा राख्नुभयो । त्यो नाम राखेर उहाँहरूले के–के गर्नुभयो ? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिनँ । कतिपयले त्यसो गर्ने गर्छन्, ती अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो । जनसेवाका लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ,’ उनले भने, ‘राजनीतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि ! उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठीक गरें कि गरिनँ भन्ने थियो पछि त विवाद सुरू भयो । यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, एकखाले मान्छेहरू कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरूको पेशा नै त्यही जस्तो लाग्छ ।’
उनले भने, ‘त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिनँ, भैंसी, बाख्रा पाल्न छोडें ।’




प्रतिक्रिया