पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथको चेतावनी- गुण्डागर्दी नरोकेमा देशभर कुनै कार्यक्रम गर्न नदिने


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पूर्वराजा र राजसंस्थाविरुद्ध आक्रोश पोखेका छन् । बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशभर कुनै पनि कार्यक्रमहरु गर्न नदिने चेतावनी दिएका हुन. ।

बुधबार एक कार्यक्रममा राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । त्यसकै प्रतिवादमा आज खनालले गुण्डागर्दी नरोकेमा ज्ञानेन्द्र शाहलाई देशभर कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिएका हुन् ।

राजावादीहरुले गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्ने अभियान सुरु भएको खनालको दाबी गरे । ‘गुण्डागर्दी गर्ने काम बन्द गर । बन्द गर्दैनौ भने तिमीहरुका कुनै पनि कार्यक्रम हामी देशव्यापी एउटा पनि कार्यक्रम हुन दिँदैनौं । यो कुरा सुनिराख । ज्ञानेन्द्र शाहले सुन्नुपर्ने कुरा हो यो । म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स-साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरुले टिट फर ट्याट पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ । तर, ज्ञानेन्द्र शाहलाई भन्छु, खबरदार, यदि गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा छ भने यो इच्छा पूरा हुनेवाला छैन । अहिले नै हिसाबकिताब हुन्छ ।’, खनालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement