पार्टी फुटाउने चलखेलमा लागेको छैनः झलनाथ खनाल


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न र पार्टीको नीतिनिष्ठ एकतालाई खँदिलो बनाउन पार्टी पंक्तिलाई आग्रह समेत गरेका हुन्।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित भएपछि एकीकृत समाजवादी पनि फुट्न लागेको चर्चा चलिरहेको छ । आफ्नोे नेतृत्वमा पार्टी फुटाउने चलखेल भइरहेको चर्चा चलेपछि नेता खनालेले प्रष्टीकरण दिदैँ फुटाउन लागिएको भनेर सुनियोजित प्रचारबाजी भएको बताए । उनले आफू पार्टी फुटाउने चलखेलमा नलागेकाे दावी गरे ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फुटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा जुटेका थिए । तर, जसपा नेपाल फुटेपछि उनको प्रयास असफल भएको छ । माधव नेपाल हालको गठबन्धनको विरुद्धमा बोलिरहेका बेला खनाल भने सत्ता गठबन्धनको पक्षमा उभिएका थिए ।

नेता खनालले यस्तो भनेका छन् :

‘केहि दिनअघि मात्र तत्कालीन जनता समाजवादी पार्टी नेपाल समेत विभाजित भएको छ । यही सिलसिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।

देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरूलाई परिष्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसै कारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्त्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किइसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोसिस गर्दैछन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement