काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता आवश्यक रहेको बताएका छन् ।
आइतबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा उनले वामपन्थी एकता अहिलेको परिस्थितिमा अत्यन्तै आवश्यकता रहेको बताएका हुन् ।
खनालका अनुसार समयले कम्युनिस्टहरूलाई हिर्काएको र अहिले बाध्यात्मक परिस्थिति खडा भएको छ ।
‘कतिपयलाई आश्चर्य लागेको हुनसक्छ , अनौठो लागेको हुनसक्छ । वामपन्थी एकता आजमात्रै होइन, अनेकन कालखण्डबाट आवश्यक थियो,’ उनले भने, ‘तर, बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । त्यसकारण हामी एक हुन सकेनौं । अब समयले हामीलाई हिर्काउन थालेको छ । बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । यसले गर्दा आज हामी वामपन्थी फेरि एकताबद्ध हुन खोज्दैछौं ।’
यस्तै उनले बामपन्थीहरू कमसेकम विचार गोष्टीमा भएपनि एकबद्ध भएकोमा खुशी प्रकट गरे ।
‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रुपमा अगाडि बनाउन थालौं,’ खनालले भने, ‘तबमात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबण्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाईं तबमात्रै गतिशील भएर अघि बढ्न सक्छ ।’




प्रतिक्रिया