काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने निर्णय सम्बन्धित पार्टीले गर्ने बताएका छन् ।
मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल लागनु नगर्ने भएपछि सोमबार संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले मन्त्री कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका हुन् ।
‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो ।’
६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै भएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए । ‘हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ,’ उनले भने ।
आइबार बसेको पार्टी सचिवालय बैठकले आफ्नो तर्फबाट सरकारमा सहभागि मन्त्रीलाई र्फिता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णय गरेको थियो । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नयाँहरुको नाम समेत प्रधानमन्त्री देउवालाई बुझाएका थिए । तर देउवाले भने तत्काल मन्त्रिपरिषद्मा फेरबदल नहुने बताएका छन् ।




प्रतिक्रिया