काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनका लागि झापा–२मा चुनावी गतिविधि बढ्दाे छ । त्यहाँ निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्रीहरूसहित अन्य दलका उम्मेदवारहरूले मतदाताको घरघरमा गएर मत मागिरहेका छन् ।
यस्तो छ विगतको नतिजा
गत २०७९ को निर्वाचनमा एमालेका देवराज घिमिरे विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल दोस्रो भएका थिए भने तत्कालीन नेकपा (माओवादी केन्द्र) का हरिकुमार राना मगरले तेस्रो स्थान पाएका थिए ।
तर यस पटक गत निर्वाचनका उपविजेता नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुनः चुनावी मैदानमा छन् । गत निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तालमेल भएको थियो भने माओवादी केन्द्रका उम्मेदवारलाई कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका थिए ।
त्यसअघि २०७४ को निर्वाचनमा पनि एमालेकी पवित्रा खरेल निर्वाचित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचन २०७० मा एमालेका प्रेम गिरी र पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका धर्मशिला चापागाईँ निर्वाचित भएकी थिइन् ।
२०४७ पछि २०६४ भन्दा अघिका निर्वाचनमा पनि एमाले विजयी हुँदै आएको थियो । झापा–२मा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी १८ जना उम्मेदवार छन् । एमालेले निवर्तमान सभामुख देवराज घिमिरेलाई उठाएको छ भने , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर मैदानमा छिन् ।
यस्तै नेपाली कांग्रेसबाट सरिता प्रसाईँ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट धर्मशिला चापागाईँसहितका उम्मेदवार आआफ्नो भाग्यपरीक्षणका लागि घरदैलो अभियानमा सक्रिय छन् । यस्तै पूर्वमहान्यायाधिवक्ता डा युवराज सङग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस निर्वाचन क्षेत्रअन्तर्गत अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका–८ र ९, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २ र ३ तथा बिर्तामोड नगरपालिकाको वडा नं १ देखि ९ सम्म पर्दछन् । यहाँ एक लाख ४७ हजार ५२२ मतदाता छन् भने १६५ मतदान केन्द्र तोकिएका छन् ।
मतदाताको गुनासै गुनासो
यस क्षेत्रका मतदाताले उम्मेदवारलाई जिताएर पठाएपनि सन्तोषजनक काम नगरेको गुनासो गर्छन । उनीहरू यहाँ दैनिक रूपमा भोेगिरहेको समस्याको दीर्घकालीन समधान चाहेका छन् । तर ती कामहरू पूरा नभएको उनीहरूको दुखेसो छ ।
यो क्षेत्र हात्ती प्रभावित क्षेत्र पनि हो । जंगली हाति आएर खेत र घरमा दुःख दिने गरको मतदाताहरू बताउँछन् ।
सुकुम्वासी, किसान र विपन्न नागरिकको अधिक बसोबास रहेको यस क्षेत्रका जनता मुख्यतः कृषिमै आश्रिन छन् । तर जंगली हातीले बालीनाली खाइदिने र घरपनि भत्काइ दिने समस्याबाट उनीहरू अहिले पनि पीडित छन् । यसको दीर्घकालीन समाधान हुनुपर्ने उनीहरूको माग छ ।
तर एमालेका उम्मेदवार र गत निर्वाचनमा विजयी भएका घिमिरेले तीन वर्षको छोटो अवधिमा धेरै काम गरेको दाबी गर्छन् ।
नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार एवं पूर्वमन्त्री चापागाईंले बिर्तामोडलाई ‘स्मार्ट सिटी’ बनाउने योजना रहेको बताउँछिन् ।
उम्मेदवारहरूले आ–आफ्नो जितको दाबी गरिरहँदा मतदाताहरू कृषि, सिँचाइ, बाटोबाटो हुनुपर्नेमा जोड दिन्छन् ।
झापा–२ मा बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र स्थानीयको उच्च अपेक्षाले यस निर्वाचनलाई सर्वत्र चासोको केन्द्र बनाएको छ ।




प्रतिक्रिया