काठमाण्डु – निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा चुनावी गतिविधि तीव्र बनेको छ ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मतदाताको घरघरमा पुगेर सुझाव, समस्या र अपेक्षा बुझ्ने अभियानमा सक्रिय देखिएका छन् ।
विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गरी स्थानीय समस्या संकलन गर्ने तथा पार्टीको एजेन्डा प्रस्तुत गर्ने उद्देश्यले उनीहरू गाउँ टोलमा पुगेका हुन् ।
यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन् । ओली र शाहको उम्मेदवारीले देशैभरको ध्यान यहाँ चानिएको छ ।
उनीहरूसहित अन्य राजनीतिक दलका प्रतिनिधिहरू पनि चुनावी प्रतिस्पर्धामा छन् ।
२२ जना उम्मेदवार रहेको झापा ५ मा केही उम्मेदवार निष्क्रिय छन् भने केही दलका उम्मेदवार चुनावी रणनीति बनाउन व्यस्त छन् । दुई मुख्य प्रतिस्पर्धी दल एमाले र रास्वपा पनि चुनावी प्रचारमा लागेका छन् । दुवै दलले सामाजिक सञ्जाललाई पूर्ण रूपमा प्रयोग गरिरहेका छन् । रास्वपाले भने सोमबारबाट बालेनविनै घरदैलो अभियान सुरु गरेको छ ।
घरदैलोका क्रममा केही मतदाताले विगतमा पटक पटक मतदान गरे पनि स्थानीय विकासमा अपेक्षित सुधार नभएको गुनासो राखेका छन् । कतै इन्टरनेट सेवा कमजोर रहेको, कतै सडक तथा पूर्वाधार समस्याहरू समाधान नभएको उनीहरूको भनाइ छ । यस क्षत्रलाई विकास गर्नका लागी मतदाताले आग्रह गरेका छन् ।
उता शाहको पक्षमा रहेका मतदाताले नयाँ नेतृत्व र परिवर्तनको आवश्यकता औंल्याएका छन् । केहीले पुराना नेताहरूलाई निरन्तर अवसर दिनुपर्ने धारणा राख्छन् भने केहीले नयाँ विकल्प रोज्नुपर्ने बताउँछन् ।
यसरी झापा–५ मा ओली र शाह दुवै पक्षको प्रभाव देखिएकाले वास्तविक मत परिणाम भने निर्वाचनपछि मात्रै स्पष्ट हुने देखिन्छ । यति वेला झापाका मतदाताले घरदैलोमा आएका नेता तथा कार्यकर्तालाई आफ्नो समस्या खुलेरै राख्न पाएका छन् ।
अब कुनलाई रोज्ने भन्ने बारे मतदाता अन्योलमै छन् ।




प्रतिक्रिया