एमाले अध्यक्ष ओली, कांग्रेस महामन्त्री शर्मा र राप्रपा अध्यक्ष लिङ्देनको गृहजिल्ला झापामा यसरी प्रतिष्ठा बन्दै छ स्थानीय निर्वाचन

एमाले अध्यक्ष ओली, कांग्रेस महामन्त्री शर्मा र राप्रपा अध्यक्ष लिङ्देनको गृहजिल्ला झापामा यसरी प्रतिष्ठा बन्दै छ स्थानीय निर्वाचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका नेता राम कार्कीको गृहजिल्ला हो, झापा ।

चार दलका शीर्ष नेताहरूको गृहजिल्ला रहेकाले झापामा आसन्न स्थानीय निर्वाचन प्रतिष्ठाको विषय हुने पक्कापक्की छ । मंसिरमा संघीय र प्रदेश सभा निर्वाचन हुने भएकाले दलहरू सम्पूर्ण शक्तिसहित स्थानीय निर्वाचनमा होमिने छन् ।

०७४ को निर्वाचनमा झापाका १५ पालिकामध्ये एमालेले सात, कांग्रेसले पाँच र राप्रपाले तीन पालिका जितेका थिए । अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका, कमल गाउँपालिका, दमक नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र शिवसताक्षी नगरपालिका एमालेले जितेको थियो ।

कांग्रेसले गौरादह नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिका जितेको थियो भने कचनकवल गाउँपालिका, गौरीगन्ज गाउँपालिका र हल्दीबारी गाउँपालिका राप्रपाले जितेको थियो । चौथो शक्ति माओवादीले कुनै पालिका जित्न सकेन ।

गत निर्वाचनमा एमाले, कांग्रेस, राप्रपा, माओवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, माले र स्वतन्त्र उम्मेदवार मैदानमा थिए । अहिले एमाले, कांग्रेस र राप्रपाका शीर्ष नेतालाई पुरानो बिरासत जोगाउनुपर्ने चुनौती छ । त्यसमाथि एमाले र राप्रपा विभाजन भएका छन् ।

एमाले र राप्रपा विभाजनका कारण एक्लाएक्लै चुनाव लड्दा कांग्रेसका लागि केही सहज हुने देखिन्छ । तर, पाँचदलीय गठबन्धनबीच तालमेल भएको खण्डमा सबैभन्दा चुनौती एमाले अध्यक्ष ओलीलाई छ । कांग्रेससहित पाँचदलीय गठबन्धन जिल्लामा एमालेलाई हराउने रणनीतिमा जुटेका छन् । त्यसकारण झापाको निर्वाचन यसपटक रोचक बन्ने पक्कापक्की छ ।

संघ र प्रदेशको निर्वाचनमा देशैभर सन्देश दिनका लागि पनि एमालेले विगतको बिरासत जोगउनै पर्ने बाध्यतामा छ । यद्यपि, एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गरेको छ । तर, लिङ्देनको गृहजिल्ला भएका कारण थापाको प्रभाव कम देखिन्छ । त्यसमाथि लिङ्देन पछिल्लो समय झापामा केन्द्रित छन् ।

सत्तागठबन्धन दल पनि एमालेलाई हराउन सबै रणनीति अपनाउन तयार देखिन्छन् । गठबन्धनका योजनाकार कांग्रेस नेता सिटौला र महामन्त्री शर्माका लागि पनि स्थानीय चुनाव प्रतिष्ठाको विषय बनेको छ । त्यसकारण एमाले हराउन कांग्रेससहित सत्तागठबन्धन दल सबै रणनीति अपनाउन तयार देखिन्छन् ।

आगामी निर्वाचनका लागि जिल्लामा ३ लाख २१ हजार ५ सय २० पुरुष, ३ लाख २४ हजार ७ सय ५ र अन्य ९ गरी ६ लाख ४६ हजार २ सय ३४ मतदाता छन् । ६ राष्ट्रिय र ३० राष्ट्रिय मान्यता प्राप्त नगरेका गरी ३६ दल स्थानीय चुनावका लागि दर्ता भएका छन् ।