बैतडीमा १७८ जनाको कोरोना स्वास्थ्य परीक्षण

बैतडीमा १७८ जनाको कोरोना स्वास्थ्य परीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ ।

सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा यही फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए । परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको उनले बताए ।

भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा दुईजना स्वास्थ्यकर्मी खटाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।

सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्मा्मिटर’ ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।

सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएकोसमेत भट्टले बताए ।

सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित सङ्क्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।