जितपुर–सिमरा उपमहानगरपालिका : कांग्रेस र माओवादीको टसलले एमालेलाई ‘चिट्ठा’ पर्ने सम्भावना

जितपुर–सिमरा उपमहानगरपालिका : कांग्रेस र माओवादीको टसलले एमालेलाई ‘चिट्ठा’ पर्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बारा पनि दुईवटा उपमहानगरपालिका भएको जिल्ला हो । यहाँको जितपुर–सिमरा उपमहानगरपालिका बढी चर्चामा छ । पथलैया–वीरगन्ज औद्योगिक करिडोरदेखि निजगढ विमानस्थल यही उपमहानगरमा पर्छ । प्राकृतिक स्रोत–साधनले समेत सम्पन्न भएकाले जितपुर–सिमरा उपमहानगरको नेतृत्व लिन दलहरूले सबै उपाय अपनाइरहेका छन् ।

अघिल्लो चुनावमा एमालेले जितेको यो उपमहानगरमा कांग्रेस र माओवादीले हाराहारीमा मत ल्याएका थिए । यसपटक एमालेले विगतको नतिजा दोहोर्‍याउने बताएको छ भने कांग्रेस र माओवादीले पनि एक्लाएक्कै लडेर जित्न सक्ने दाबी गरिरहेका छन् । दुवै दलको दाबीका कारण तालमेल गर्न सकस परिरहेको छ ।

गत चुनावको परिणाम

०७४ को निर्वाचनमा यस उपमहानगरमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल १४ हजार आठ सय ६५ मत ल्याएर मेयर बने । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णवर्त सिंहले ११ हजार नौ सय ९५ तथा तेस्रो स्थानको माओवादीका राजन पौडेलले ११ हजार दुई सय ५१ मत पाएका थिए । यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टीका अखिलकुमार सिंहले दुई हजार आठ सय चार मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी सरस्वतीदेवी चौधरी १४ हजार चार सय ४९ मत पाएर विजयी भइन् । कांग्रेसकी नारायणी रायमाझीले १२ हजार चार सय ९५ तथा माओवादीकी गान्त्रीदेवी थरुनीले १० हजार आठ सय ६६ मत पाइन् । राजपाकी चित्ररेखा चौधरीले तीन हजार ३९ भोट ल्याइन् । मेयर, उपमेयरमा तेस्रो स्थानमा रहे पनि वडा तहमा भने माओवादी बलियो देखियो । २४ वडामध्ये १० वटामा माओवादीले अध्यक्ष जित्यो । एमालेले सात र कांग्रेसले पाँच वडाध्यक्ष मात्रै जिते । पदाधिकारीमा कम मत ल्याएको राजपाले पनि दुई वडाध्यक्ष जितेको थियो ।

अब के होला त ?

एमालेले जितपुर–सिमरामा फेरि जित्ने बताइरहेको छ । एक्लाएक्लै चुनाव भएको अवस्थामा उसको दाबी सत्य साबित हुन पनि सक्नेछ । तर, सत्तासाझेदार दलबीच गठबन्धन बन्यो भने एमाले धेरै पछि पर्नेछ । अघिल्लो चुनावको मत हेर्दा पनि त्यो स्पष्ट हुन्छ । कांग्रेस र माओवादीको मात्रै मत पनि एमालेको भन्दा निकै धेरै हुन्छ । पाँचदलीय गठबन्धन बन्यो भने एकीकृत समाजवादी र जनता समाजवादीका मत पनि मिसिँदा त्यो अत्यधिक हुनेछ ।

माओवादीले जिल्लाको अर्को उपमहानगर कलैयामा मेयर लिएर जितपुर–सिमरामा आफूलाई दिन कांग्रेससँग माग गरिरहेको छ । अहिलेसम्म कांग्रेस तयार देखिएको छैन । पाँचदलीय गठबन्धन बनेन भने पनि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेल हुन सक्छ । त्यसो भयो भने मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनबीच नै हुनेछ । कांग्रेस तेस्रो स्थानमा पुग्नेछ । किनकि यो उपमहानगरमा एकीकृत समाजवादीको पनि उल्लेख्य प्रभाव छ ।

जसपाको दुई वडामा राम्रै मत छ । एकीकृत समाजवादीले काट्ने भोट एमालेको हुने भएकाले उसलाई समस्या हुन सक्नेछ । यसबाहेक माओवादी एक्लै लड्ने अवस्थामा भने एमालेलाई केही सहज हुन सक्छ । यद्यपि, माओवादीले पहिलेभन्दा आफ्नो संगठन अझै मजबुत भएको दाबी गर्दै आएको छ । कांग्रेसले पनि हालै तीनवटा कार्यक्रम गरेर सयौँलाई पार्टीमा भित्र्याएको छ ।

तर, कुन दलले कस्ता उम्मेदवार अघि सार्छन् भन्नेले पनि परिणाम तलमाथि हुन सक्नेछ । सत्तासाझेदार दलबीच महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाटै गर्ने तयारी भएकाले जितपुर–सिमरा माओवादीले पाउन सक्छ । यदि त्यसरी गठबन्धन बन्यो भने यसपटक जितपुर–सिमरा एमालेको हातबाट गुम्नेछ ।

सम्भावित उम्मेदवार

यो उपमहानगरको एमालेबाट हालका मेयर कृष्णप्रसाद पौडेलले दोहोरिन चाहेका छन् । उनले त्यसैअनुसार लबिङ गरिरहेका छन् । उपमेयर सरस्वती चौधरीले पनि मेयरमा दाबा गरेकी छिन् । यसबाहेक पार्टीका जिल्ला अध्यक्ष सुन्दर विक, प्रचार विभाग प्रमुख मनोज पौडेल, देवनारायण चौधरी र भरत खड्काको नाम पनि चर्चामा छ ।

कांग्रेसबाट अघिल्लोपटकका उम्मेदवार कृष्णवर्त सिंह नै मुख्य दाबेदार हुन् । उनीबाहेक नारायणी रायमाझी, पुस्कर रायमाझी, नारायण पण्डित, छविलाल शर्मा, श्यामबाबु गुप्तालगायतले पनि मेयरमा आकांक्षा राखेका छन् । माओवादीबाट गत चुनावमा पनि उठेका राजन पौडेल मुख्य दाबेदार हुन् । यस्तै, गान्धीदेवी थरुनी, धनबहादुर श्रेष्ठलगायतले पनि आकांक्षा राखेका छन् ।

मतदाताको संख्या

जितपुर–सिमरा उपमहानगरपालिकामा १३ हजार चार सय चार मतदाता बढेका छन् । यो चुनावका लागि ७० हजार ६४ मतदाता पुगेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये पुरुष ३६ हजार नौ सय ६२ र महिला ३३ हजार एक सय दुई छन् । पाँच वर्षअघि यो उपमहानगरमा ५६ हजार ६ सय ६० मतदाता थिए ।