६१ किलो सुन तस्करीमा मुछिएका चलाउनेको ३२ ठाउँमा जग्गा, २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

६१ किलो सुन तस्करीमा मुछिएका चलाउनेको ३२ ठाउँमा जग्गा, २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–४ स्थायी ठेगाना भएका चलाउनेसहित १५ जना व्यक्तिलाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण विभागले काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाण्डु, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

अभियोगपत्र अनुसार, कुल २ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।

विभागले दायर गरेको अभियोगपत्रमा भनिएको छ, ‘खरीदको कुल मूल्य समेत गर्दा हुन आउने कुल रकम १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ रुपैयाँ तथा विदेशबाट अवैध तरिकाले आयात गरेको सुन ६० केजी ७१६ ग्रामको तत्कालीन अवस्थाको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँका दरले हुने कुल मूल्य ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ र हिमालयन बैंकमा निजका नाउँमा रहेको नं. ००२१०५५००१९००१३ को खातामा कसुरबाट प्राप्त गरी जोर जम्मा गरी कारोबार गरी निःसर्ग गरेको रकम ३ करोड ५२ लाख रुपैयाँ समेत गरी हुने कुल रकम २,अर्ब ७ करोड ६२, लाख १३ हजार ५१६ रुपैयाँ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि हुन आयो छ ।‘

साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो । पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिइएको र ३०२ किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो ।

यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ । समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।