काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वाबपन्थी पार्टीबीच एकताको विकल्प नरहेको बताएका छन् ।
मदन भण्डारी फाउण्डेदशनले आइतबार राजधानीमा गरेको कार्यक्रममा खनालले साम्राज्यवादीहरुले देशमा उदण्डता मच्चाइरहेकाले त्यसलाई रोक्न वामपन्थी मिल्नुको विकल्प नरहेको बताए ।
उनले गत २१ फागुनको निर्वाचअघि एमाले र नेकपाबीच तालमेल भएको भए करिब एक सय सिट आउने दाबी गरे । ‘हामी मिलेको भए एक सय सिट वामपन्थीको हुन्थ्यो’, खनालले भने, ‘आज यो बालेन तानाशाही चल्ने थिएन, देशको परिस्थिति आज अर्कै हुन्थ्यो ।’
उनले देशको अस्तित्व, गणतन्त्र र अहिलेको संविधानमाथि खतरा आइलागेको र मुलुक अनाडीहरुको हातमा गएको टिप्पणी गरे ।
‘देश संकटमा जाँदैछ । यो संकटबाट देशलाई मुक्त गर्ने शक्ति वामपन्थी शक्ति नै हो । विगतका सारा बाचाहरु पुरा गर्न अब वामपन्थीहरुले हात मिलाउनुको विकल्प छैन । हामीहरु हात मिलाऔं । मन पनि मिलाऔं,’ उनले भने, ‘हामी मैत्रीपूर्ण ढंगले बहस गरौं । एकले अर्कालाई गाली होइन । एउटाको नाम लिँदा अर्काले मुख कुल्ला गर्नुपर्नेसम्मको स्थिति भयो । हामीले यो इतिहासलाई आजकै मितिबाट अन्त गरौं ।’
यस्तै उनले देशमा एउटा मात्रै कम्युनिष्ट पार्टी हुने हजारवटा कार्यदिशाले देश मुक्त नहुने बताए ।
खनालले थपे, ‘यसमा हातारिनुपर्ने केही छैन । हाम्रो कार्यदिशा, नीति के हो ? प्रधानअन्तर्विरोध के हो ? प्रधान निशाना के हो ? अहिले अघि सार्नुपर्ने कार्यदिशा/कार्यनीति के हो ? त्यसको निक्र्यौल गरेर हामी संकल्प गरौं । एकताभन्दा अघि हामी कार्यगत एकता गेर देशलाई अगाडि बढाऔं ।’
खनालले ०७४ सालमा भएको कम्युनिष्ट एकता जोगाउन नसक्नुको कारण आफूहरु नै भएको उल्लेख भए । मदन भण्डारीप्रति सच्चा सम्मान गर्ने भए सबै वामपन्थी शक्तिबीच एकता हुनैपर्ने खनालको भनाइ थियो ।
गत २३ र २४ को घटना कुनै जनआन्दोलन नभई नेपाली जनतामाथिको षड्यन्त्र भएको आरोप खनालले लगाए । जेनजीहरुको भावना भड्काएर टिओबी समूह र सुण्डमुसुण्डहरुले संसद भवल जलाउन उक्साएको टिप्पणी गरे ।
‘एभरेष्ट होटलदेखि अगाडि बढेपछि टिओबी र सुण्डमुसुण्डहरुले आन्दोलन कब्जा गरे । जेनजीहरुलाई संसद् भवन कब्जा गर्न लगियो । २४ गते महाविश्वंश भयो । हाम्रो देशमा यस्तो विध्वंश कहिल्यै भएन’, खनालले भने, ‘यो विभिन्न किसिमका विदेशी प्रतिक्रियावादीले गरेको षड्यन्त्र हो । म त जेनेजी भाइबहिनीहरुलाई भन्छु, त्यो २३ र २४ को घटनाले तपाईंहरुको भविष्य जलेको छ ।’
खनालले एमालेलाई महाकाली सन्धिले बदनाम बाहेक केही नदिएको बताए । यस्तै एमसिसी सम्झौता गरेर पनि गल्ती गरेको बताए ।
‘हामीले हिजो हिँड्दाखेरि ठिक ठाउँमा पाइला टेकेनौं’, उनले भने, ‘हामीले सही ठाउँमा टेकेर शालीनतापूर्वक समिक्षा गर्नुपर्छ ।’
सरकारका नीति र कार्यक्रममा किसान, श्रमिकको हित छिन्ने काम गरेको आरोप उनले लगाए ।
सञ्चार क्षेत्रलाई कमजोर बनाउन विज्ञापन नीतिमा कडाई गर्दा करिब तीन लाख पत्रकार रोजगारविहीन हुने र सुकुमबासीका नाममा समाजमा डोजर आतंक सृजना गरिएको बताए ।
उनले बजेट नितान्त माथिल्लो वर्गको हितका लागि मात्र आएको आरोप समेत लगाए ।




प्रतिक्रिया