एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् ।
अमेरिकाको सिबीएस न्युजलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । उनले इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने बताएका हुन् ।
‘यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ,’ राष्ट्रपति बाइडेनले भने ।
इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए ।
त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको हो । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरुमाथि लगाएको प्रतिबन्दका कारण आफूहरुको धैर्यता टुटिसकेको बताएका थिए ।




प्रतिक्रिया