२० राष्ट्रका सेना सहभागी अभ्यास सम्पन्न, अभ्यासबाट आपसी सम्बन्ध मजबुत भएको सेनाको दाबी

२० राष्ट्रका सेना सहभागी अभ्यास सम्पन्न, अभ्यासबाट आपसी सम्बन्ध मजबुत भएको सेनाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाको युएस प्यासेफिक कमाण्डको संयुक्त आयोजनामा २० राष्ट्रहरुका सेना सहभागी अभ्यासको समापन भएको छ । सञ्चारसम्बन्धी उक्त अभ्यास एमसीआईपीको नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले शुक्रबार सांझ समापन गरेका हुन् । अभ्यास गत साउन २१ गतेबाट काठमाडौंमा सुरु भएको थियो ।

दुई चरणमा सञ्चालन भएको उक्त अभ्यासमा पहिलो चरणमा सञ्चार सम्बन्धी विभिन्न क्षेत्रहरुमा अध्ययन, छलफल र अन्तरक्रिया हुनुका साथै युस प्यासेफिक कमाण्डका विज्ञहरुद्वारा साइबर सुरक्षा र व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण भएको थियो ।

त्यसका साथै दोस्रो चरणमा प्यासेफिक सिनियर कम्युनिकेटरस मिटिङ सेसनअन्तर्गत विपद्सँग सम्बन्धीत विभिन्न क्षेत्रका विज्ञहरुबाट प्रस्तुतिकरण, सहभागी राष्ट्रका उच्च सैनिक अधिकृतहरु बीच छलफल, अन्तरक्रिया एवं अनुभव आदानप्रदान गरिनुका साथै विभिन्न कमाण्ड पोष्टहरु खडा गरी मिलाप उपकरणहरुको अभ्यास समेत सञ्चालन भएकोे थियो ।

उक्त अभ्यासमा मित्र राष्ट्रहरुका सेना, सम्बन्धीत एजेन्सी तथा विज्ञहरु गरी जम्मा २७० जनाको सहभागीता रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले उक्त अभ्यासबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सैनिक संगठनबीच मिलाप कायम गरी विपद् व्यवस्थापन कार्यलाई समन्वयकारी ढंगबाट असरदार बनाउन सहयोग पुग्नुको साथै अभ्यासमा सहभागी राष्ट्रहरुबीच आपसी सम्बन्ध अझ मजबुत बनाउन थप टेवा पुग्ने विश्वास लिएको छ ।

समापन समारोहमा नेपाली सेनाका रथीबृन्द, नेपाल सरकारका पदाधिकारी, अन्य सम्बन्धीत क्षेत्रका प्रतिनिधिहरु, अधिकृत तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।