नेपाली सेना र अमेरिकी सेनाबीच फेरी संयुक्त सैन्य अभ्यास हुंदै


काठमाडौं– नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपत व्यवस्थापनसम्बन्धी सैन्य अभ्यास हुने भएको छ । उक्त सैन्य अभ्यासमा दुई दर्जनभन्दा बढी मुलुकहरु सहभागी हुने बताईएको छ ।

‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’(डिआरईई) नामाकरण दिइएको उक्त सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

सैन्य अभ्यास आगामी जेठ ५ देखी १२ गतेसम्म पोखरामा आयोजना हुने निश्चित भइसकेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी यम ढकालले सैन्य अभ्यासको मिति तय भएको बताए । उनले नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमाण्डले हरेक वर्ष विपत व्यवस्थापनसम्बन्धी संयुक्त तालिम गर्दै आएको जानकारी दिए ।

दुवै देशका सेनाको संयुक्त आयोजनामा दुई दर्जन मुलुक सहभागी सैन्य अभ्यास २०१२, १३ र १६ मा काठमाडौंमा सम्पन्न भएको थियो । यसअघि भएको सैन्य अभ्यासमा अमेरिका,नेपालसहित श्रीलंका,माल्दिभ्स,इण्डोनेशिया,बंगलादेश र क्यानडालगायतका देश सहभागी भएका थिए । तर, यसपटकको सैन्य अभ्यासमा कति वटा देश सहभागी हुने भन्ने वारेमा भने टुंगो लागेको छैन् ।

संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापनसम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञान आदान–प्रदान हुने र त्यसबँट भविष्यमा आउन सक्ने सम्भावित विपतलाई कम गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाको छ ।

नेपाली सेनाले अमेरिका,भारत र चीनसंग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । पछिल्लो समय नेपाली सेना र अमेरिकी सेनाको स्पेशल फोर्सबीच ‘ व्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास मुस्ताङमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement