नेपाली सेना र भारतीय सेनाबीच पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुंदै

नेपाली सेना र भारतीय सेनाबीच पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास भारतको पिथौरगढमा हुने भएको छ । सुर्यकिरण नाम दिइएको संयुक्त सैन्य अभ्यास सेटेम्बर २० बाट भारतको पिथौरगढमा सुरु हुन लागेको सैनिक प्रवक्ता समेत रहेका सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सुर्यकिरण सैन्य अभ्यासको १५ औं संस्करण यसपटक भारतमा हुन लागेको हो । यसअघि संयुक्त सैनिक युद्धअभ्यास सुर्यकिरणको १४ औं संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाल आर्मी ब्याटल स्कुलमा सम्पन्न भएको थियो । कोभिडको कारण विचमा अभ्यास रोकिएपनि यो वर्षबाट फेरी उक्त अभ्यास सुचारु हुन लागेको हो ।

संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन,प्रतिविद्रोह तथा जंगल वारफेयरजस्ता विषयमा एक अर्का देशका सेनाले आफ्नो अनुभव समेत सांटासाट गर्नेछन् । नेपाली सेनाका ३ सय जनाभन्दा बढी सैनिक तथा भारतीय सेनाको ३ सय ५० भन्दा बढी गरी ६ सय ५० जनाको टोली उक्त अभ्यासमा सहभागी हुनेछ ।

सुर्यकिरण सैन्य अभ्यास २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी संचालन हुंदै आएको छ ।

सेनाले यो अभ्यासले दुवै देशको सेनाको सैद्धान्तिक,व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान सैनिक संगठनको तल्लो निकायसम्म पुग्न सहयोग पुग्ने दावी गरेको छ । नेपाली सेनाको रिपोमर्दन पल्टनले यसपटकको सैन्य अभ्यासमा सहभागीता जनाउनेछ ।