काठमाण्डु–स्वायत्ततासहितको सङ्घीय प्रणाली हुन नसक्नुमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दोषी रहेको जसपा-नेपालले आरोप लगाएको छ ।
सोमबारबाट जनकपुरधाममा सुरू भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधानसभाले संविधान बनाउँदा प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था हुन नसक्नुको कारण कांग्रेसको अडान रहको टिप्पणी गरिएको छ ।
‘कांग्रेस उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । सङ्घीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्तता सहितको सङ्घीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ,’ अध्यक्ष उपेन्द्र यादवले तयार पारेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेस सहभागीतामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरूद्धमा उभिने गरेको पनि प्रतिवेदनमा आरोप लगाइएको छ ।
कांग्रेस नेतृत्वको सरकारले नै नेपालमा निरपेक्ष निजीकरण र उदारीकरण सुरूवात गरेको उल्लेख छ ।
यस्तो छ प्रतिवेदनका मुख्य बुँदा
–राष्ट्रिय उद्योग धन्दाहरू समाप्त पार्ने, कृषि अनुदान कटौती गर्ने, कृषि प्रधान देशलाई कृषि वस्तुमै परनिर्भर आयातकर्ता बनाउने, श्रम निर्यात गर्ने बाँकी सबै वस्तुहरू विदेशबाट आयात गर्ने, देशलाई निरन्तर व्यापार घाटामा पार्ने रूपमा पनि कांग्रेस जिम्मेवार छ
–शिक्षा र स्वास्थ्यको अति व्यापारीकरण तथा माफियाकरण गर्ने, भूव्यवस्थाको व्यापारीकरणमार्फत् अव्यवस्थित सहरीकरण र सहरी सुकुम्वासी समस्या सिर्जना गर्ने, नियमक संस्थाहरूको भूमिका कमजोर पार्ने, जताततै मूल्य कार्टेलिङ्ग र सिन्डीकेटलाई प्रश्रय दिने, ठेक्कापट्टा र राजकीय स्रोतमा निश्चित वृत्तलाई मात्र पोस्ने र कमिसन तन्त्रलाई बढावा दिने जस्ता प्रवृत्तिहरू कांग्रेसले संस्थागत गरेको हो ।
–कांग्रेसको शासनकालमा लाउडा, घमिजा, सुडान जस्ता ठूल्ठूला भ्रष्टाचार काण्ड भएको उल्लेख गरिएको छ। तर कहिल्यै विश्वसनीय छानबिन भएको छैन ।
–सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन। आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसक्ने गरी थङथिलो भएको छ । तथापि यो पार्टीको देशभरि फैलिएको संगठन र परम्परागत जनमत छ ।
–वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले यो पार्टीलाई भोट दिँदै आएको छ ।
–हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्दछ ।
–कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा जसपा नेपालले सहकार्य गर्न सकिन्छ ।
–आउँदा केही वर्ष र दशकभित्रै एमाले लगायत कम्युनिस्टहरू पतन भइसक्छन् ।
–सत्तारूढ एमाले ‘एकैसाथ संसदवादी’ र कम्युनिस्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको छ ।
–नेपाल कम्युनिस्ट पार्टीको स्थापना साम्राज्यवाद विरूद्ध सङ्घर्ष, सामन्तवादको अन्त्य, जहानियाँ राणा शासनको अन्त्य, जनवादी गणतन्त्रको स्थापना सँगै जनवाद, समाजवाद हुँदै साम्यवादी लक्ष्य प्राप्तिको लागि सङ्घर्ष गर्ने उद्देश्यबाट भएको थियो । तर सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् परम्परागत संसदीय प्रणालीको बाटो समात्यो । ‘एकैसाथ संसदवादी’ र कम्युनिस्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको छ ।
–पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरू विश्वव्यापी रूपमा असफल भएपछि नेपाली कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तै भएको छ ।
–एकातिर उनीहरू माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शब्दनिष्ठा व्यक्त गर्न छाडेका छैनन् भने अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरूमा व्यापक अन्योल, अविश्वास, निराशा र हिनतावोध छ ।
–यही वैचारिक संकटबीच उनीहरूले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिस्ट नभएर केवल राजनीतिक रूपमा मात्र कम्युनिस्ट’ भएको बुझिदिन आग्रह गर्दै आएको छ ।
–एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय–विनय गर्दछन् भने ‘अर्कोतिर ‘कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामीप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्नेबित्तिकै गौरव पनि गर्दछन् । यसरी नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रूपले अँध्यारो सुरूङभित्रको यात्रा गरिरहेको छ ।
–दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन ।
–आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख हुनेछ ।
–एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिस्ट पार्टीका ठुल्ठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदागिंदै छन् । आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी, नीतिलाई नै निरन्तरता दिइरहेको छ । शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिस्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन ।
–सम्पत्ति शुद्धीकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठूला आयोजनाहरू बिनाटेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन ।
–नेपालका कम्युनिस्टहरूले निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन गरिरहेका छन् ।
–वर्तमान संविधान जारी गर्दा बखत कांग्रेससँग मिलेर मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस–आर्य, दलित, महिला, पछाडि पारिएका वर्ग आदि आन्दोलनलाई निर्मम रूपले दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना हुन नदिने नेकपा (एमाले) को प्रत्यक्ष संलग्नता रहेको छ । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेकपा (एमाले) नेपाली कांग्रेस जस्तै औपचारिक– प्रतिनिधिमूलक संसदीय लोकतन्त्र/उदारवादी लोकतन्त्रको पक्षपाति बन्न पुगेको छ ।
–एमालेले पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय, जातीय, वर्गीय, लैंगिक मुक्तिको विरूद्ध उभिएको छ ।
–यस्तो प्रवृत्तिविरूद्ध हाम्रो पार्टीले तीव्र वैचारिक तथा राजनीतिक सङ्घर्ष गर्नुपर्दछ । कम्युनिस्ट समर्थक र तल्लो तहका इमान्दार कार्यकर्ता पंक्तिलाई प्रशिक्षित गर्दै समाजवादी लोकतन्त्र÷समाजवादी लोकतन्त्रको मार्गचित्र र कार्यदिशाबारे प्रशिक्षित गर्दै ध्रुवीकृत गर्ने प्रयास गर्नुपर्छ ।
–कांग्रेस–एमालेले धमिल्याएको पानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले माछा मार्न खोजेका छन् ।
–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पुरातन सम्वर्द्धनवादी धारको प्रतिनिधि पार्टी हो । यो पार्टीले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई अन्त्य गरी वंशानुगत राजतन्त्रात्मक शासन प्रणलीको पुनर्स्थापना गर्न चाहन्छ । राप्रपाले आफूलाई राजावादी, हिन्दु राष्ट्रवादी पार्टी भन्न रूचाउँछन् । पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षाकवचका रूपमा यो पार्टीको उदय भयो ।
–राप्रपाले जनताको धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहेको छ ।
–यो पार्टी पछिल्लो चुनावमा केही स्थान हासिल पनि गरेको छ । महेन्द्रीय राष्ट्रवाद’को पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस–कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ र राजतन्त्र फर्किने हल्ला पनि गर्दछ । नेपाली जनताको लामो सङ्घर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएका छन् । जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन । तथापि यो पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनुपर्दछ ।
–लोकतान्त्रिक समाजवादी पार्टी मित्रशक्ति हो । लोसपा, नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी हो ।
–यो पार्टीसँग हाम्रा केही ऐजेण्डाहरू मिल्छन् । तर यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैं लिन सक्दैन, अर्काको मुख ताक्ने गर्दछ । तर पनि यो पार्टीसँग सहकार्य गर्न सकिन्छ ।
–नेपालमा कम्युनिस्ट घेराभित्रै नेकपा ( एकीकृत समाजवादी), नेकपा (मसाल), नेकपा, नेमकिपा, माले छन् ।
–यी दलहरू वा त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त वा त नेकपा (एमाले) कै उपग्रही विचार बोक्छन ।
–राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दै छन् । यो सकारात्मक कुरा नै हो । तर, यी दलका विचार के हुन्? र केकस्ता ऐजेण्डा बोक्ने हुन् । त्यो प्रष्ट छैन । केही नयाँ गरौं भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन् । यिनीहरूलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नुपर्दछ । यसका साथै गलतबाटोतर्फ न जाउन् भनेर वैचारीक सङ्घर्ष पनि जारी राख्नुपर्दछ ।




प्रतिक्रिया