जनकपुर – जनकपुरधाममा जारी जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ ।
नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका छन् ।
यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरूले समेत निर्वाचन प्रक्रियाको बहिष्कार गरेका छन् । रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरूले समेत अध्यक्ष पदका उम्मेदवार यादवको समर्थन गर्दै अधिवेशन बहिष्कार गर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको विधानविपरीत अधिवेशन भइरहेकाले आफूहरूले अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको बताए ।
उनले अध्यक्ष पदका अर्का उम्मेदवार बालकिशोर यादवले विधानविपरीत आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरू अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरूलाई बन्द सत्रमा समेत बेवास्ता गरिएको उनको आरोप छ ।
मधेश प्रदेश अधिवेशनमा बिहीबार निर्वाचनको सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिएकोमा अहिले बहिष्कार गरिएको पक्षबाहेक उपस्थित अन्य उम्मेदवार एवं मतदाताहरूको बाँकी प्रक्रिया थालिएको छ । अन्य पदहरूमा उम्मेदवारीको प्रक्रिया समेत अघि बढाइएको छ ।




प्रतिक्रिया