जसपा नेपालले चार महिने संगठन विस्तार अभियान चलाउने

जसपा नेपालले चार महिने संगठन विस्तार अभियान चलाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन विस्तारको चार महिने अभियान चलाउने भएको छ । पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत संगठन निर्माण अभियान सुरू गर्ने जनाएको हो ।

संघ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पंक्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।

ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म संगठन निर्माण, विस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरे ।

संगठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हकअधिकारको पैरबी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको उनको भनाइ थियो । “यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ”, अध्यक्ष यादवले भने ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।