काठमाण्डु – उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै जसपाले बुधबार प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
पार्टीले संघर्षको कार्यक्रम घोषणा गर्दै बुधबार नै प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
विरोध कार्यक्रम अन्तर्गत मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध कार्यक्रम र कोणसभा गरी जनपरिचालन गरिने भएको छ।
यस्तै मंसिर १९ र २१ गते माग तथा मुद्दा अंकित प्लेकार्ड र ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने छ भने मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने छ।
प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभातर्फ पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज र पुस १७ गते भैरहवामा कार्यक्रम तय भएको छ।




प्रतिक्रिया