जसपा महाधिवेशन : पार्टी विभाजन र गुमेको सत्ता फर्काउने यादवको दाउ

जसपा महाधिवेशन : पार्टी विभाजन र गुमेको सत्ता फर्काउने यादवको दाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुँदैछ ।

तीन दिन सम्म चल्ने महाधिवेशनमा पार्टीको दस्तावेज र नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ । यस्तै नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुनेछ । महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय केन्द्रीय समिति निर्वाचित गर्ने छ ।

हाल विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समिति छ । अहिले विधान संशोधनको प्रस्ताव दर्ता भएकाले पारित भए केन्द्रीय समिति २०१ सदस्यीय बनाइनेछ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।

प्रवक्ता मनिस सुमनका अनुसार महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि छनोट गरिएको छ ।

उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता–कार्यकर्ताका साथै शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रतिनिधि जनकपुरधाम पुगेका छन् ।

उद्घाटन सत्रमा सबै दललाई निम्तो गरिए पनि भर्खर विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई बोलाइएको छैन ।

सत्तामा फर्कने यादवको तयारी

महाधिवेशनको मुखमै विभाजनको मार खेपेको जसपाले पार्टीमा क्षति नपुगेको सन्देश दिन चाहेको छ । त्यति मात्र होइन, महाधिवेशन हुनुभन्दा ठीक ५ दिनअघि मधेश प्रदेश सरकारको सत्ता पनि गुमेको छ ।

पार्टी विभाजनको चोट निको हुन नपाउँदै महाधिवेशन गरेर यादवले आफूलाई शक्तिमा फर्काउने कोसिस् गरिरहेका छन् ।

अहिले मधेस प्रदेश सभामा  जसपाका १९ सांसद छन् । ती सबै राई नेतृत्वको जसपामा खुलिसकेका छैनन् । तर महाधिवेशनपछि केही सांसदहरु राई नेतृत्वको जसपामा खुल्ने तयारीमा छन् ।

प्रदेश संरचना सुरु भएपछि निरन्तर साढे ६ वर्ष मधेश प्रदेशको नेतृत्व गरेको जसपाले सत्ता गुमाएको ५ दिनपछि महाधिवेशन गर्न लागेको छ । एक महिनाबीचमा दुईवटा गम्भीर क्षति भोगेर जसपाले पार्टीलाई गतिशील बनाउने मौकाको रूपमा महाधिवेशनलाई लिन सक्ने अवसर छ ।

एक्ला दाबेदार उपेन्द्र

मधेशी जनअधिकार फोरमको ब्यानरमा मधेशी नागरिकको अधिकारका लागि मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादव निरन्तर अध्यक्ष रहँदै आएका छन् । २०६५ सालमा मधेश आन्दोलन गरेर राष्ट्रिय राजनीतिमा उदाएका यादवको नेतृत्वलाई कसैले खास चुनौती भने दिन सकेका छैनन् ।

एमाले, माओवादी हुँदै मधेशकेन्द्रित राजनीतिमा ओर्लिएका यादवसँग कांग्रेस, एमाले, माओवादीका वरिष्ठ मधेशी नेताहरूले पनि सँगै काम गरे । तर, पार्टीमा मिलेर लामो समय जान नसकेपछि उनीहरू निस्किए । विजय गच्छदार, जयप्रकाश गुप्ता, महन्थ ठाकुर, राजेन्द्र महतो पनि यादवको नेतृत्वमा रहे ।

‘मधेसमा विभाजनको असर नदेखिए २०८४ को निर्वाचनपछि आफूहरु पहिलो शक्ति भएर बन्ने दाबी यादवको छ ।’

बाबुराम भट्टराईले समेत आफनो पार्टीलाई यादवसँग एकीकरण गरे । तर, कोही पनि यादवसँग लामो समय सहकार्य गर्न सकेनन् । यादवलाई चुनौती दिएर उनीसँग बस्न नसकेका नेताहरू बाहिरिएका कारण अहिलेको महाधिवेशनमा पनि उनलाई चुनौती दिने नेता देखिएका छैनन् । महाधिवेशनमा चुनौती दिने अशोक राई मात्र थिए, जो जसपा बनाएर अल्लगिएका छन् ।

केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव पुनः दोहोरिने सम्भावना छ । अन्य पदमा भने प्रतिष्पर्धा हुने छ । अहिले यादवलाई अध्यक्षमा चुनौती दिनेभन्दा पनि खुशी पारेर पार्टीमा हावी हुने प्रयासमा नेताहरू छन् ।

जसपा नेपालका नेताहरूका अनुसार राजकिशोर यादव, रकम चेम्जोङ र लालबाबु राउत सहअध्यक्षको आंकाक्षी हुन् । राउत लामोसमयदेखि यादवसँग काम गरेका नेता हुन् भने पार्टीमा उपाध्यक्ष पनि भइसकेका छन् । उनी मधेश प्रदेशमा ५ वर्षे मुख्यमन्त्री पनि चलाइसकेका नेता हुन् ।

महाधिवेशनले पार्टीमा २ महासचिव निर्वाचित गर्नेछ । जसपा नेपालका नेताहरूको भनाइमा महासचिवमा नेताहरू मनिष सुमन, प्रकाश अधिकारी दाबेदार देखिएका छन् । त्यसैगरी, भर्खरै माओवादीबाट प्रवेश गरेका रामकुमार शर्मा पनि महासचिवका दाबेदार छन् ।

मधेसमा विभाजनको असर नदेखिए २०८४ को निर्वाचनपछि आफूहरु पहिलो शक्ति बन्ने दाबी यादवको छ । तर निरन्तर विभाजन र दोहोरो निर्वाचन प्रणाली यादवका लागि चुनौती बनेको छ ।