चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै जुम्ला, भारतसहित देशभरका विद्यार्थी पुगे

चिकित्सा शिक्षा अध्ययनको नयाँ गन्तव्य बन्दै जुम्ला, भारतसहित देशभरका विद्यार्थी पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा देखिन थालेको छ ।

अध्ययन, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा सक्रिय रहेको प्रतिष्ठानमा अहिले भारतसहित नेपालका विभिन्न जिल्लाबाट विद्यार्थीहरू चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका छन् ।

देशका सुविधा सम्पन्न शहरहरू छाडेर दुर्गम मानिने जुम्लालाई अध्ययनको गन्तव्य बनाउने विद्यार्थीको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ । अहिले प्रतिष्ठानमा भारतका ५ जना विद्यार्थीसहित नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न जिल्लाबाट १३० जना विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि जुम्लाको खलाङ्गा बजारस्थित जुम्लाको खलाङ्गा बजारस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।

धनुषा, धरान, कैलाली, तनहुँ, प्युठान, नवलपरासी, धादिङ, कालीकोट, कञ्चनपुर, दैलेख, मोरङ, लमजुङ, पोखरा, रुपन्देही, रौतहट, बाँके, बैतडी, सुर्खेत, महोत्तरी, अर्घाखाँची, रुकुम पश्चिम, चितवन, सिराहा, बारा, मुस्ताङ, बझाङ, कपिलवस्तु, दाङ, म्याग्दी लगायत जिल्लाबाट आएका विद्यार्थीलाई मंगलबार स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक रूपमा स्वागत गरिएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार नयाँ शैक्षिक सत्र २०८२ का लागि विभिन्न संकायमा गरी १३० जना विद्यार्थी भर्ना भएका छन् । जसअनुसार एमबीबीएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बीएनएसतर्फ २० जना, बीपीएचतर्फ २० जना, बीएससी नर्सिङतर्फ २० जना र बी–फार्मातर्फ २० जना विद्यार्थी अध्ययन गर्न जुम्ला पुगेका छन् ।

उनका अनुसार मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा प्रतिष्ठानका विद्यार्थीहरूले शतप्रतिशत सफलता हासिल गरेपछि प्रतिष्ठानप्रति विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएको छ । सीमित स्रोतसाधन र राज्यको अपेक्षाकृत कम ध्यानका बाबजुद जुम्ला चिकित्सा शिक्षा अध्ययनको रोजाइ बन्नु गौरवको विषय भएको उनले बताए ।

गत वर्ष विभिन्न संकायमा १०४ जना विद्यार्थी भर्ना भएका थिए भने यस वर्ष २६ जना थपिएर संख्या १३० पुगेको छ । वर्षेनी विद्यार्थी संख्या बढ्दै जानुले जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले देशभरबाट आएका विद्यार्थीलाई स्वागत गर्दै कर्णालीलाई विश्वास गरेर अध्ययनको गन्तव्य बनाउनु प्रतिष्ठानका लागि गर्वको विषय भएको बताए । संघीय राजधानी काठमाण्डु जस्ता सुविधा सम्पन्न विश्वविद्यालय छोडेर जुम्ला रोज्नुले प्रतिष्ठानलाई थप जिम्मेवार बनाएको उनले बताए । उनले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई देशकै अब्बल जनशक्तिका रूपमा तयार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दाङबाट एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेका विद्यार्थी अमय आचार्यले आफूले सुनेकोभन्दा देखेको जुम्ला निकै फरक रहेको अनुभव सुनाए ।

‘जुम्लामा राम्रो बाटो छैन, निकै दुर्गम छ भन्ने धेरैले भनेका थिए । तर यहाँ आएपछि त्यो भ्रम मात्रै रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र मात्र होइन, भाषा, साहित्य, संस्कृति, जडीबुटी र प्राकृतिक सुन्दरताको अध्ययन गर्ने राम्रो थलो पनि रहेछ ।’

विद्यार्थीहरूले अब ढुक्कका साथ अध्ययन पूरा गरेर दक्ष चिकित्सक बनेर फर्किने विश्वास व्यक्त गरेका छन् ।