जुम्लामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी, विभाजनका कारण एमाले झनै कमजोर

जुम्लामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी, विभाजनका कारण एमाले झनै कमजोर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशको जुम्ला जिल्लामा पनि चुनावी तापक्रम बढ्दो छ । यो जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीको प्रभाव छ । एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेको जुम्लामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी दलका रूपमा रहेका छन् । विभाजनका कारण एमाले केही कमजोर भएको छ ।

०७४ सालमा भएको चुनावमा जुम्लामा कांग्रेसले चारवटा र माओवादीले तीनवटा स्थानीय तहका प्रमुख जितेका थिए । एमालेले एउटा मात्रै प्रमुख जित्न सफल भयो । माओवादीले थप दुईवटा पालिकामा उपप्रमुख पनि जित्यो । कांग्रेसले पातारासी र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष दुवै जित्यो । यस्तै, उसले चन्दननाथ नगरपालिकामा मेयर र सिँजा गाउँपालिकामा अध्यक्ष पनि जितेको थियो ।

माओवादीले गुठीचौर गाउँपालिका, तातोपानी र हिमा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष दुवै जितेको थियो । यस्तै, उसले चन्दननाथ नगरपालिकाको उपमेयर र तिला गाउँपालिकाको उपाध्यक्षमा पनि सफलता पायो । एमालेले भने तिला गाउँपालिकामा अध्यक्ष र सिँजा गाउँपालिकामा उपाध्यक्ष मात्रै जित्न सक्यो । जुम्लाका केही स्थानीय तहमा नेमकिपाको पनि प्रभाव छ । तर, उसले प्रमुख पदमा जित निकाल्न भने सकेन ।

आसन्न स्थानीय चुनावमा अब जिल्लामा के होला भन्ने चर्चा सुरु भएको छ । एमाले विभाजनबाट सबैभन्दा बढी प्रभाव परेकोमध्ये एउटा जिल्ला हो जुम्ला । यहाँको सिंगो एमाले जिल्ला कमिटी नै एकीकृत समाजवादीमा गएको थियो । थुप्रै जनप्रतिनिधि पनि एमाले छाडेर एकीकृत समाजवादीमा गएका छन् । त्यसैले हिजो एमालेको स्थान आज एकीकृत समाजवादीले लिएको छ ।

वैशाख ३० गते हुने चुनावमा मुख्यतः कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । संघीय सत्तामा साझेदारी गरिरहेका दलबीच नै प्रतिस्पर्धा रहेकाले यो जिल्लामा गठबन्धन बन्न निकै गाह्रो भइरहेको छ । कांग्रेस र माओवादी दुवैले आफू ठूलो दल भएको दाबी गरिरहेका छन् । एकीकृत समाजवादीले आफूलाई पहिलेको एमालेसरहकै हैसियत दिन माग गरिरहेको छ ।

सत्ता गठबन्धनबीच तालमेल भयो भने जिल्लामा एमाले साफ हुने निश्चित छ । तालमेल नहुँदा पनि एमालेलाई पहिले जितेको एउटा प्रमुख र एउटा उपप्रमुख बचाउन पनि गाह्रो देखिन्छ । किनकि अहिले एकीकृत समाजवादीका कारण उसको शक्ति निकै कमजोर छ । एमालेले नेमकिपासँग तालमेल गर्न सके केही पालिकामा प्रतिस्पर्धामा जान सक्छ । नत्र उसको अवस्था कमजोर देखिन्छ । समग्रमा तालमेल भए पनि नभए पनि जुम्लामा सत्तासाझेदार दलकै अवस्था मजबुत देखिन्छ । जिल्लामा ६७ हजार ७ सय ४४ मतदाता छन् । तीमध्ये ३५ हजार २ सय ७३ पुरुष र ३२ हजार ४ सय ७१ महिला छन् ।