काठमाण्डु-एमाले नेता तथा मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीलाई प्रहरीले जुवातास खेल्दै गरेको अवस्थमा पक्राउ गरेको छ । प्रहरीले सहित माझीसहित ९ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
ग्रामथान–४ कटहरामा जुवाको अखडामा छापा हानेर पूर्वअध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ परेका माझी २०७४ सालमा स्थानीय तहको निर्वाचनमा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
पक्राउ पर्नेहरूमा सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा–१ का ५० वर्षीय जनककुमार माझी, महोत्तरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका–४ का आर्हलाल माझी, धरान–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाङ, लेटाङ–९ का लोकनाथ सापकोटा र सुन्दरहैचा–३ का प्रताप राई छन् ।
सुनसरी, झापा र मोरङको विभिन्न स्थानबाट जुवा खेल्न ग्रामथानमा आउने गरेको विशेष सूचनाको आधारमा छापा हानेर जुवा खेलिरहेको जुवाडेलाई नियन्त्रणमा लिएको एसपी कार्कीले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । ग्रामथान ४ मोतीपुर क्षेत्रमा जुवाको अखडा बनाएर नामुद जुवाडेहरू जुवा खेल्ने गरेका छन् । यहाँ कोशी प्रदेशको विभिन्न जिल्ला र मधेस प्रदेशबाट पनि जुवाडेहरू ग्रामथानमा जुवा खेल्न आउने गरेका छन् ।
खोला छेउ छाउको घरहरूमा व्यवस्थित रूपमा जुवा खेल्ने अखडा बनाएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया