काठमाण्डु –ज्योति विकास बैंक र क्लकबी विजनेश इनोभेसनले संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको छ । आइतबार लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी इन्ट्रप्रिन्यू हर नामक कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र क्लकबी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई पचास हजारको ‘सीड फन्ड’ र दुई लाखको ‘इक्विटी इन्भेष्टमेण्ट फन्ड’ प्रदान गरेका थिए । इन्ट्रप्रिन्यू हर महिला उद्यमी र उद्यमीहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम हो ।
एक महिना अघिबाट सञ्चालित यस इन्ट्रप्रिन्यू हर कार्यक्रममा सातै प्रदेशबाट २१७ जना महिलाहरुले अनलाईन मार्फत् आवेदन दिएका थिए ।सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकास सम्बन्धी वर्कसप सिजन, मेन्टोरसिप सिजन, भर्चुअल इन्कुबेसन प्रोग्राम र उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट उनीहरुको उद्यमलाई अझ विस्तारित बनाउन तालिम प्रदान गरिएको थियो ।तालिमको समाप्ति भएसंगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यमसम्बन्धि विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए । जसमध्येबाट मुल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए ।
आइतबार आयोजित कार्यक्रमको अन्तिम दिनमा बैंक र क्लक बीका विभिन्न पदाधिकारीहरु, निर्णायक मण्डल, इन्भेस्टर र विभिन्न अतिथिहरुका माझ १० जना उम्मेदवारहरूले आफ्नो उद्यमको खाकार विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए ।
सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहेका पारसराज कंडेल, रामहरि आचार्य, बिनय देवकोटा, स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्यालले गरेको मुल्याङ्कनको आधारमा सृजना भुसाल र शैलजा कशजुलाई विजेता छनोट गरिएको थियो ।
सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषि जन्यवस्तुबाट महिलाहरुको शिपलाई प्रवर्द्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्क जस्ता वस्तुलाई बजार प्रदान गर्ने इ–कमर्ससाइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो ।
सो कार्यक्रममा महिला उद्यमशीलता सम्बन्धी प्यानल डिस्कसन पनि रहेको थियो । प्यानालिस्टमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, विजनेश ३६० की प्रमुख सम्पादक चारुचड्डा, युरो स्कूलकी निर्देशक शैलजा अधिकारीर एफइएएनकी नीरु रायमाझी खत्रीले महिला उद्यमशीलता सम्बन्धी आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया