काठमाण्डु – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले ज्योतिष र धर्मशास्त्रबिच अन्योन्याश्रित सम्बन्ध रहेको बताएका छन् ।
बिहीबार आयोजित ‘ज्योतिष दिवस समारोह २०८२’मा बोल्दै उनले धर्मशास्त्रको पर्याप्त ज्ञान विना ज्योतिष सम्बन्धी अभिव्यक्ति दिँदा विवाद र आपत्ति उत्पन्न हुने बताएका हुन् । जसले गर्दा कहिलेकाहीँ ज्योतिषीहरू पक्राउ समेत पर्ने गरेका छन् ।
पछिल्लो समय धेरै व्यक्तिहरूले विषयवस्तु नबुझिकन धारणा सार्वजनिक गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले यस्ता गलत बुझाइलाई हटाउन आवश्यक रहेको बताए ।
‘ज्योतिष र धर्मशास्त्रबिच अन्योन्याश्रित सम्बन्ध छ । धर्मशास्त्रको कुरा नजानी ज्योतिषीले बोल्दा पनि आपत्ति आइपर्छ । आजका दिनमा पनि धेरै आपत्तिका कुराहरू आएका थिए । धेरै कुराहरू नबुझेर बोलिरहेका हुन्छन्,’ उनले भने ।
उनका अनुसार ज्योतिषी, पण्डित, पुरोहित तथा धर्मशास्त्रका विज्ञहरूबिच आपसी समन्वय र समान दृष्टिकोण आवश्यक छ । ‘हामी सबैले एकीकृत रूपमा बोल्नुपर्छ र विचारपूर्वक अभिव्यक्ति दिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा समितिका पूर्वनिर्देशक पण्डित सूर्यप्रसाद ढुङ्गेलले वर्तमान अवस्थामा धर्म, संस्कार र संस्कृतिको संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए ।
परम्परागत मूल्य–मान्यता संकटमा परेको उल्लेख गर्दै उनले यसको संरक्षणमा ज्योतिषीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखे । ढुङ्गेलले आधुनिक प्रविधिको विकाससँगै परम्परागत ज्ञान र अध्ययनप्रतिको चासो घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले पर्याप्त अध्ययन र दक्षताको अभावका कारण सेवाग्राहीहरू समेत प्रभावित भइरहेको बताए ।
‘हाम्रो परम्परा अहिले आधुनिक वैधानिक प्रविधिको विकासले हाम्रो आफ्नो क्षमताले काम चलिहाल्छ भनेर हाम्रो क्षमता बृद्धि गर्ने कुरा एकातिर घट्दै घट्दै गइरहेको छ । अर्कोतिर सक्षम भएर सेवा दिनुपर्ने हो यो कुराहरूमा हाम्रो आफ्नै अध्ययनको जागरका कमीले गर्दा हाम्रा उपभोक्ताहरू मर्कामा पनि परेका छन्,’ उनले भने ।
उनले ज्योतिषशास्त्र, धर्म र संस्कृतिको संरक्षणका लागि ज्योतिषीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।




प्रतिक्रिया