काठमाण्डु- जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिस्पर्धी नभई सहयात्री र सहयोगी रहेको बताएका छन्।
आइतबार चितवनमा सुरू भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफू प्रतिस्पर्धीका रूपमा नभई शुभेच्छुक र सहयात्रीका रूपमा कार्यक्रममा सहभागी भएको बताए।
‘जुन सपना तपाईंले देख्नुभएको छ, त्यही सपना मैले पनि देखेको हुनाले आज शुभकामना दिन यहाँ उपस्थित भएको हुँ। म यहाँ कुनै प्रतिस्पर्धीको रूपमा होइन, तपाईंको सहयात्री र सहयोगीको रूपमा शुभकामना दिन उपस्थित भएको हुँ,’ उनले भने, ‘त्यही भएर म पनि ६ घण्टा लगाएर काठमाडौंबाट यहाँसम्म आएको छु।’
राउतले रास्वपाको महाधिवेशनलाई सामान्य राजनीतिक कार्यक्रम नभई परिवर्तनको अभियानसँग जोडिएको ऐतिहासिक परिघटनाको रूपमा व्याख्या गरे।
‘यो केवल महाधिवेशन मात्रै होइन, यो क्रान्तिको महोत्सव हो,’ उनले भने, ‘देश बदल्ने सपना बोकेका मानिसहरू यहाँ भेला भएका छन्।’
उनले रास्वपाले जनताबाट देश निर्माण गर्ने अवसर पाएको उल्लेख गर्दै आन्दोलनमा सक्रिय युवाहरूको भावना र अपेक्षा नबिर्सन आग्रह गरे। सम्बोधनका क्रममा राउतले रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको पनि प्रशंसा गरेका थिए।
उनले प्रधानमन्त्री शाहलाई युवा, बौद्धिक, लोकप्रिय र समस्याभन्दा माथि उठेर समाधान खोज्न सक्ने नेतृत्वका रूपमा चित्रित गरे।
यस्तै मधेसीको छोरा प्रधानमन्त्री बनेपछि आफ्नो सपना पूरा भएको भन्दै शाहप्रति आफ्नो सम्मान व्यक्त गरे।
‘मधेसीको छोरा प्रधानमन्त्री बन्यो, सपना पूरा भयो,’ उनले भने।
प्रधानमन्त्रीको पहिरन र व्यक्तित्वबारे समेत उनले ठट्टा गरेका थिए।
‘उहाँ यति आकर्षक हुनुहुन्छ कि कुनै दिन विपक्षीले कालो पोशाक लगाउनै नपाउने कानुन ल्याउनुपर्छ भन्न पनि सक्छन्,’ उनले भने।
राउतले हिमाल, पहाड र मधेशका जनताबीच शाहप्रति व्यापक आकर्षण रहेको दाबी गर्दै जनताको विश्वासलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।




प्रतिक्रिया