नेपाल कबड्डी लिग आजदेखि हुँदै

नेपाल कबड्डी लिग आजदेखि हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) शुक्रवारदेखि शुरू हुँदैछ ।

दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उदेघाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे ६ बजे शुरू हुने छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाडौका मार्की खेलाडी हुन् । काठमाडौले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ ।

पोखरा लेकर्सको मार्कीमा प्रदीप मिजार छन् । राष्ट्रिय टोलीमा पनि प्रशिक्षण दिइसकेका विष्णुदत्त भट्टको प्रशिक्षणमा पोखरा खेल्दैछ । प्रतियोगितामा काठमाडांै र पोखरासहित विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।

जनकपुरको प्रशिक्षकमा पार्वती राई र मार्कीमा रामु टमाटा छन् । विराटनगरको मार्कीमा कल्याण भुजेल र प्रशिक्षकमा लोकबहादुर विष्ट, धनगढीको मार्कीमा पदमबहादुर विष्ट र प्रशिक्षकमा महेश बोहरा, हिमालयनको मार्कीमा गणेशबहादुर पार्की तथा प्रशिक्षकमा सन्दीप पन्त र भारतका पोल्थुगान्ती सतीशकुमार रहेका छन् । सतीशकुमार भारतीय प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

प्रतियोगितामा थाइल्यान्ड र बङ्गलादेशको समान ६, केन्या र श्रीलङ्काको समान ३ गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् ।

प्रत्येक टिममा १४ खेलाडी रहनेछ । हरेक टिमले कम्तीमा २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् भने एकै पटक दुई विदेशी खेलाडी खेल्न पाउनेछन् ।