एजेन्सी- अफगानिस्तानको काबुलस्थित विमानस्थलमा बिहीवार भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको छ । काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनिकसहित अहिलेसम्म ९० जनाको मृत्यु भएको बताइएको छ ।
उक्त आक्रमणमा परि १५० जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन् । अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।
इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जनरल फ्र्याङ्क मकेन्जीले बताएका छन् ।
उक्त विस्फोट आईएसआईएसले गराएको हुनसक्ने बताइएको छ । अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएसँगै यस्तो आक्रमण हुनसक्ने विश्लेषण गरिएको थियो । अझ पनि थप हमलाहरु हुनसक्ने बताइएको छ । अगस्ट १५ तारिखमा तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । अहिलेसम्म काबुलबाट १ लादभन्दा बढी मानिसलाई अन्यत्रै लगिएको छ ।




प्रतिक्रिया