आज काग तिहार र धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

आज काग तिहार र धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आइतबार यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक शनिबारदेखि शुरु भएको हो ।

शनिबार दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आइतबार काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आइतवारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले जानकारी दिए।

कागलाई संदेशबाहकका रूपमा लिइन्छ । यस अवसरमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ ।

आजै धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

यस्तै प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने धन्वन्तरी जयन्ती र आरोग्यता दिवस पनि आइतबार नै विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदैछ।

वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीन आयुर्वेद चिकित्सापद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति सम्झनामा देशभर विभिन्न कार्यक्रम गरेर आज धन्वन्तरी जयन्ती र आरोग्यता दिवस मनाउन लागिएको हो।

बिहान त्रयोदशी तिथि परेका दिन धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आइतबार मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको वैदिक सनातन हिन्दू ग्रन्थमा उल्लेख छ।

यसदिन आयुर्वेदका चिकित्सकहरूले सत्संकल्प गरी शुभकार्य सुरु गर्छन्।

काठमाण्डुको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापित आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पताल थियो।

२०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक क्याम्पसका रूपमा सञ्चालित छ। आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ। धन्वन्तरी जयन्ती र आरोग्यता दिवसमा भगवान् धन्वन्तरीको पूजा हुन्छ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्यता दिवसका रूपमा मनाउन थालिएको हो। हातमा आयुर्वेद पुस्तक र प्रकृतिको औषधिको प्रतीक जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

यता सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।

सोमबार दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि सोमबार नै परेको हो । त्यस्तै मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।

गाईगोरु एवम् गोवर्द्धन पूजा बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ यसै दिन परेको छ । कात्तिक बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।