काठमाडौँ – मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो ।
त्यसको २० दिनअघि नेपालगन्जमा पनि बा १८ च ४२११ नम्बरको निजी कारबाट प्रहरीले हतियार बरामद ग¥यो । रेस्टुराँ नजिकै पार्किङमा राखेको सन्दीपजङ्ग शाहको कारको सिटमुनि हतियार रहेको विशेष सुराकीका आधारमा बरामद भएको दाबी प्रहरीको छ । विशेष सुराकीका आधारमा हतियार बरामद भएका यी दुई घटना रहस्मय छन् ।
प्रहरीले कसैलाई ‘फसाउन’ षडयन्त्रपूर्ण ढङ्गले हतियार राखेको हो वा साच्चै सुराकी लगाएर अवैध हतियार बरामद गरेको हो, अनुसन्धान जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइराला मेडिकल कलेज हतियार कान्डका विषयमा चारजना सुरक्षागार्डमाथि अनुसन्धान भइरहेको बताउनुहुन्छ । तर विद्यार्थीहरू भने आन्दोलन दबाउन हतियारको षड्यन्त्र रचेको आरोप लगाएका छन् ।
नीलो रङ्गको झोलाभित्र मेड इन यूएसए लेखिएको एकथान पेस्तोल, त्यसमा प्रयोग हुने गोली, म्यागजिन, एसएलआर हतियारमा प्रयोग भइसकेको गोलीको खोका छ राउन्ड र डेटोनेटर तार बरामद घटना आफैमा रहस्यमय छ । प्रवेशद्वारमा सुरक्षागार्ड र चौरमा सीसी क्यामेरा हुँदा पनि प्रहरीले हतियार राख्ने व्यक्तिको पहिचान गर्न सकेको छैन ।
अज्ञात सुराकीले दिएको सूचनाका आधारमा झोलामा लुकाइराखेको हतियार बरामद गरेको प्रहरीले स्वीकारेको छ । त्यस्तै, नेपालगन्ज घटनामा पनि कारधनी सन्दीपजङ्गले दशैँ–तिहारमा खसी उपहार नदिएको रिसमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले फसाउन हतियार लुकाइ दिएको आरोप लगाएका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।




प्रतिक्रिया